Shittalpati
औलो रोगबाट बच्न सचेत बनौं

औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । औलो धेरै पुरानो र परम्परागतरुपमा परिचित समस्या हो । यसको न्यूनीकरणका लागि विश्वव्यापीरुपमै विभिन्न खाले अध्ययन–अनुसन्धान हुुने गरेका छन् । यो स्वागतयोग्य कुरा हो । औलो न्यूनीकरणका लागि जनचेतनामूलक सन्देश प्रवाह गर्न हरेक वर्ष विश्वमा औलो दिवस समेत मनाउने गरिन्छ । तर यो दिवस मनाउने गरिए पनि समस्याको समाधान भने हुन सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो । लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको उत्तम उपाय हो ।

विशेषगरी औलो एनोफिलिज जातका संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलिने एउटा गम्भीर प्रकारको रोग हो । यो रोगबाट बच्न आम मानिसले अपनाउनुपर्ने सुरक्षाका लागि झुल, कीटनाशक औषधि, वातावरण आदिका बारेमा कसले व्यवस्थापन गर्ने भन्ने विषयमा तीनै तहका सरकार स्वयं जिम्मेवार हुनुपर्छ । कागजमा मात्र होइन, व्यवहारमा समेत उतारेर सहज निकास दिनेतर्फ सरकार गम्भीर बन्नै पर्छ । आम नागरिक पनि औलो रोगप्रति सजग हुनै पर्छ । उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो हो । लामखुट्टेको टोकाइबाट बच्नुभन्दा लामखुट्टेको बासस्थान नष्ट गरी लामखुट्टेको विकासलाई रोक्नु बुद्धिमानी हुन्छ । त्यसकारण, अनावश्यक पानी जम्ने खाल्टाखुल्टी पुरी लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्दछ । प्राकृतिक रुपमा बढी पानी पर्ने, पानी जम्ने र उच्च तापक्रमको कारण चितवनमा अन्य स्थानको तुलनामा लामखुट्टेको विकास छिटो हुने गर्दछ । अन्य रोगको तुलनामा लामखुट्टेजन्य रोग औलो अत्यन्त जटिल किसिमको रोग हो । तसर्थ लामखुट्टेजन्य रोगबाट बच्न बेलैमा सचेत बनौं ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update