Shittalpati
स्वास्थ्यका लागि हाँसो

हाँस्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हाँस्नका लागि अतिरिक्त पैसा खर्च गर्नुपर्दैन । न श्रम नै खर्चनुपर्छ । यो हाँसो स्वास्थ्यका लागि अचुक औषधि हो । तर मानिस खुलेर हास्नै सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । मनमा अनेक तर्कना खेल्छ । यही चक्करमा मानिस खुलेर हाँस्न सकेको देखिदैन । अझ पछिल्लो समय त मानिस कोरोनाका कारण जागिर, व्यवसाय गुमेको चिन्तामा छ । त्यसले गर्दा कयौं मानिसहरु मानसिक समस्याको शिखार भएका छन् । यस्तो अवस्थामा हास्नु राम्रो हो । हाँस्दा हाम्रो मन उमंगित हुन्छ । फुरुंग हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । हामी आसपासका वातावरण वा माहौल रमाइलो हुन्छ । हामीसँगै उभिएका वा दोस्रो व्यक्तिमा राम्रो प्रभाव पार्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउनका लागि हरेक वर्ष विश्व हाँसो दिवस मनाइने गरिन्छ ।

आजविश्वभर यो दिवस मनाइँदै छ । अहिलेको अवस्थामा हाँसो दिवसको महत्व अत्यन्त ठूलो रहेको छ । हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा गर्न सघाउने तथा दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले तौल घटाउन पनि सहयोग पुग्ने विज्ञहरुको भनाई छ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै प्रतिरोधी क्षमता बढाउन पनि सहयोग पुर्‍याउन्छन् । मानसिक तनाव, रिस, घमण्ड, भोक, पीर तथा चिन्ता कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । यदि मुस्कुराउँदा अनुहारका जम्मा १३ वटा मात्र मांसपेशी प्रयोग हुन्छन् भने मुख अँध्यारो पारी झोक्रिँदा ६४ वटा मांसपेशी उपयोग हुन्छन् । हाँस्दाभन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्दछ, धेरै मांसपेशी प्रयोग हुन्छन्, धेरै ऊर्जा शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानि–नोक्सानी पुर्‍याउँछ तर त्यही मुस्कानले सफलता र सुख दिन्छ । जीवनमा सफलता र सुख मिल्यो भने मात्र स्वास्थ्य जीवन जिउन सकिन्छ । यसर्थ स्वस्थ रहन सधैँ हासौं, सधैँ खुुसी रहुँ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update