Shittalpati
पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा आत्रेय

पाल्पा, जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गते बसेको बैठकले आत्रेयलाई पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार तीन वर्षे कार्यकालका लागि आत्रेय समितिको अध्यक्षमा मनोनीत भएका हुन् ।

अध्यक्षमा मनोनीत आत्रेयलाई मंगलबार एक कार्यक्रमबीच पाल्पा अस्पतालमा स्वागत गरिएको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर विवेक भण्डारीसहित अस्पतालका कर्मचारीले अध्यक्ष आत्रेयलाई पुष्प गुच्छा, खादाले अस्पतालमा स्वागत गरेका हुन् । स्वागतमा नवनियुक्त अध्यक्ष आत्रेयले सबैसँग सहकार्य गरी अस्पतालको सेवालाई नमुना बनाउने प्रतिबद्धता जनाए । उनले अस्पतालको सेवालाई नमुना बनाउन सबै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई एकताबद्ध भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान समेत गरेका छन् ।

आत्रेयले आफ्नो तीन वर्षे कार्यकालमा अस्पतालमा कुनै पनि कमजोर हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले अस्पताललाई भरपर्दो र गुणस्तरीय बनाउने काममा लागि पर्ने धारणा व्यक्त गरे । आत्रेय नेकपा एमालेका युवा नेता तथा तानसेन नगर कमिटि अध्यक्ष समेत हुन् । उनी युवाहरु माझ निकै लोकप्रिय मानिन्छन् । लामो समय पत्रकारिता क्षेत्रमा लागेर राजनीतिमा होमिएका आत्रेय छोटो समयमै पार्टी नेतृत्व तहमा पुग्न सफल भएका छन् । उनले एमालेको संगठन विस्तार र सुदृढीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । प्रदेश मन्त्रालयले विकास समितिको सदस्यमा शशी श्रेष्ठलाई मनोनीत गरेको छ । श्रेष्ठ पनि एमालेकी नेतृ हुन् । स्वागत कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, निमित्त सुपरिटेन्डेन्ट डाक्टर विवेक भण्डारी, अस्पतालका व्यवस्थापक प्रफुल्ल शर्मा, अस्पतालका डाक्टर रमेश खड्का लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update