Shittalpati
बाख्रापालनको व्यावसायीकरणमा जोड

रामपुर, बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ ।

पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई प्रतिव्यक्ति एक÷एकका दरले माउ बाख्रा वितरण गरिएको गाउँपालिकाका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङीले बताए । “बाख्रापालनको राम्रो सम्भावना बोकेको यस गाउँपालिकामा व्यावसायिक बाख्रापालनमा किसानले जोड दिएकाले बाख्रापालनमा सहयोगका कार्यक्रममा प्राथमिकता दिइएको छ’’, उनले भने । पकेट कार्यक्रममा यहाँका एक सय ३४ घरपरिवार सहभागी छन् । परियोजनाको सहयोगमा ५५ जनालाई माउ बाख्रा तथा अन्य किसानलाई तालिम, आवश्यकताका आधारमा औषधि, घाँसको बीउलगायत सामग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा पालिकाबाट विनियोजित पन्ध्र लाख र संघीय सरकारको दश लाख सहयोगमा माउ बाख्रा तथा बोका, विभिन्न मेसिनरी सामग्री किसानलाई उपलब्ध गराइएको छ । निस्दीका वडा नं ४ र ५ मा दुई बाख्रा पकेट क्षेत्र छन् । बाख्रापालनलाई व्यावसायीकरण गर्न बाख्रा सहयोग, खोर सुधार लगायतका कार्यक्रममा पालिकाले सहयोग गरिरहेको छ । पछिल्लो समय यहाँका स्थानीयले बाख्रापालनबाट आम्दानीको स्रोत बढाउँदै गएका पालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन् । प्रशस्त चरन क्षेत्र भएकाले किसानले व्यावसायिक बाख्रापालन गरेर मनग्य आम्दानी लिन थालेका छन् । –रासस

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update