Shittalpati
कोभिड बढ्दै छ, सचेत बनौं

कोरोना महामारीको संक्रमण पुनः बढ्दै गएको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको कोरोना संक्रमणको ग्राफ अहिले दैनिक एक सय भन्दा माथि पुगेको छ । तर उच्च सर्तकता भने अपनाइएको छैन । हिजोआज बजारमा जहाँतहीँको भीडभाड देख्दा लाग्छ, मानिसहरूमा कोरोनाको डर हराइसकेछ । घरबाहिर निस्कँदा मास्क लगाउन धेरैले छाडिसकेका छन् । मानिसहरू त्यसै निर्धक्क भीडभाडमा निस्किरहेका छन् । दिनप्रति दिन संक्रमण बढ्दै मात्र गएको छैन कोरोनाबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । बेलैमा सचेत नभए यो संख्या दिनप्रति दिन बढ्न सक्नेछ । कोरोनाविरुद्धको खोप सबैले खोपको पूर्ण मात्रा तथा बुस्टर डोज लगाइसकेका छन् भनेर भनि विश्वस्त हुन सक्ने स्थिति पनि छैन् । फेरि खोप लगाउँदैमा पनि सबै सुरक्षित हुन्छ भनेर ढुक्क हुन सकिन्न । समयमै उच्च सतर्कता अपनाउनु राम्रो हुन्छ ।

संक्रमणबाट बच्ने उपाय भनेको साबुनपानीले हात धोइरहने, सेनिटाइजरको प्रयोग गर्ने, खोक्दा र हाच्छिउँ गर्दा कपडा वा बाहुलीले मुख छोप्ने गर्नु हो । मास्कको प्रयोग त झन् अनिवार्य नै भइहाल्यो । भीडभाडमा नजाने, दूरी कायम गर्ने जस्ता कुरामा ध्यान दिन आवश्यक छ । सरकारको काम सचेतना फैलाउने हो । स्वास्थ्यका पूर्वाधार तयार गर्ने हो । तर, सर्वसाधारण नागरिकका पनि आफ्नै दायित्व छन् । त्यो भनेको स्वास्थ्यका मापदण्डको पालना हो । सर्वसाधारण नै सचेत हुने, जिम्मेवार बन्ने र स्वास्थ्यका मापदण्ड पालना गरिदिने हो भने कोरोना फैलनै पाउँदैन् । पटक–पटक देखिदै आएको कोरोना महामारीबाट हामी सबै सचेत हुनै पर्छ । मानिस आफै सचेत नहुने हो भने फेरि हिजोको जस्तो अवस्था भोग्नुपर्ने हुुन सक्छ । यसर्थ समयमै सबैले उच्च सतर्कता अपनाई आफू र आफ्नो परिवारलाई सुरक्षित बनाऔं । समयमै सचेत बनौं ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update