Shittalpati
तम्घासमा मापदण्ड विपरीतका संरचना हटाउन थालियो

हाम्रा संवाददाता
गुल्मी, तम्घासमा सडक किनारका अतिक्रमित संरचना भत्काउने कार्य थालिएको छ । मापदण्ड विपरीत निर्माण गरिएका संरचनाहरु भत्काएर सडक र फुटपाथ व्यवस्थित बनाउन लागिएको हो ।

रेसुंगा नगर सरकारले बजार क्षेत्रलाई व्यवस्थित बनाउने गरी रेसुंगा नगरपालिका–२ बाघमारेको बेरियल चोकबाट मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरेको छ । साँघुरो सडकका कारण आवत–जावतमा समस्या भएकाले ट्राफिक जाम हुने र सर्वसाधारणलाई हिड्न समेत समस्या भएकाले सडक ओगटेर बनाइएका सडकपेटीहरु डोजर लगाएर नगर सरकारले भत्काउन थालेको छ । उसले गत साता यहाँको सडकमा कालोपत्र गर्नका लागि सडक छेउछाउका घरधनीहरुलाई अव्यवस्थित रुपमा निर्माण भएका सडकपेटीहरु आफैँ हटाउन सार्वजनिक रुपमा सूचना जारी जारी गरेको थियो । उक्त समयमा संरचना हटाउन स्थानीयवासीले बेवास्ता गरेपछि बाध्य भए डोजर प्रयोग गरी भत्काउन लागिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

केही घरधनीहरुले भने अहिले बल्ल आफै संरचनाहरु हटाउन थालेका छन् । बजार क्षेत्रमा साँगुरो सडक र त्यही सडकमा पनि सडकै मिचेर पेटी तथा नालीहरु बनाएपछि सवारी साधनका साथै सर्वसाधारणका लागि पैदल यात्रा गर्नसमेत समस्या परेको थियोे । नगरपालिकाले हाललाई ३० फिटको सडक मापदण्ड कायम गरेको छ । ‘साँघुरो सडकका कारण ट्राफिक जाम हुने र पैदल यात्रुलाई समेत समस्या भएकाले मापदण्ड विरीतका संरचना भत्काउनु परेको हो’ नगरप्रमुख पन्थीले भने । अव्यवस्थित रुपमा बनेका पेटी हटाएर बजारलाई सौन्दर्य बनाउने काममा नगर सरकारले अहिले सक्रियता देखाएको हो । सडक मिचेर पेटी बनाएकाले पनि बजारको सौन्दर्य बिग्रिएको थियो । नगर सरकारले बजारलाई थप सुन्दरता प्रदान गर्न र सडक चौडा बनाउन अवैध संरचना भत्काउने कार्यलाई कार्यान्वयनमा ल्याएको हो । नगर सरकारले यस अघि मापदण्ड विपरीत बनाएका संरचना भत्काउन सूचना निकाले पनि त्यसको धेरैले वेवास्ता गरेका छन् । संरचना हटाउन घरधनीले वेवास्ता गरेपछि नगर सरकार आफैले भत्काउन थालेको हो ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update