Shittalpati
आमाको एक दिन मात्र होइन, सधैं सम्मान गरौं

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर हिजो मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन मनाइने गरिन्छ । जन्म दिने आमाप्रति सम्मान गर्ने उद्देश्यले यो मनाइने गरिन्छ । माता अर्थात् आमा शब्द नै यति कर्णप्रिय छ कि यो शब्द कानमा पर्नासाथ मानिसको मस्तिष्क माया, ममता र स्नेहले प्रफुल्लित हुन्छ । मन आनन्दको गहिराइमा पौडी खेल्छ । वास्तवमा सन्तानका लागि आमा माया, ममता, करुणा र स्नेहकी प्रतिमूर्ति हुन् । आमाले अनेक दुःख कष्ट बेहोर्दै नौ महिना शिशुलाई गर्भमा राखेर माया, ममता र संस्कारले सिँचन गर्छिन्, कठोर प्रसवपीडा सहेर सन्तानलाई जन्म दिन्छिन्, आफूले खाइनखाई सन्तानको पालनपोषण गर्छिन्, आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको सुरक्षा गर्छिन् । यही कारण आमाको यति महत्व भएको हो । आमलाई जगतजननी भनिएको हो । भनिन्छ, मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यत्तिकै बोझ उठाउँछिन् । त्यसैले मानव समाजमा माताको उच्च स्थान हुन्छ ।

मातातिर्थ औंशीका दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरूले आमाबाट शुभ आर्शिवाद ग्रहण गर्ने चलन छ । सोही अनुसार बिहीबार आमाबाट आर्शिवाद ग्रणह गरिएको छ । आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुगे भने विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले सञ्चारका साधनहरूमार्फत सम्झिएका छन् । आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै श्राद्ध–तर्पण गरी मातृत्वको स्मरण गरे । वर्षमा एक दिन भएपनि आमाप्रति देखाएको माया र सद्भावलाई राम्रै मान्नुपर्छ । तर एक दिनले मात्र आमाप्रति जिम्मेवारी पुरा हुँदैन । वर्षको एक पटक मात्र आमालाई सामाजिक सञ्जालका भित्ताहरूमा मात्रै सजाएर आमा सम्झिने प्रवृत्तिको विकासलाई भने सकारात्मक मान्न सकिदैन । हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै आमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहारा विहीन बनाउने सन्तानहरू अहिले बढिरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो । हाम्रै समाजमा पनि आमाहरू छोराबुहारीको दुव्र्यवहार सहेर बसिरहेका देखिन्छन् । छोराबुहारी आरामदायी सवारीमा हुइँकिरहँदा सडकका पेटीमा आँशु बगाउँदै बसेका आमाहरू हामीले देखेका छौँ । यस्तो अवस्थामा सन्तानहरूले आफ्नो दायित्व सम्झन जरुरी छ । सन्तान आफ्नो दायित्वबाट विमुख हुनु भनेको मानव हुनुको औचित्य गुमाउनु हो । तसर्थ आमालाई वर्षमा एक दिन मात्र होइन सधैंभरी सम्झिने र माया गर्ने गरौं ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update