Shittalpati
उपनिर्वाचन : प्रचार–प्रसार गर्न रोक

पाल्पा, वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि प्रचार–प्रसारमा रोक लगाएको हो । प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि आयोगले वैशाख ७ गते मध्यरातदेखि वैशाख १० गते मतदान बन्द नभएसम्म प्रचार–प्रसार निषेधको अवधि कायम गरेको हो  ।

आयोगले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरेको विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचार–प्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थाबमोजिम मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ ।’ निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचार–प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन पनि आयोगले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update