Shittalpati
डढेलो नियन्त्रणमा प्रभावकारी कदम चालौं

फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनजंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार हाल देशभरि नै २ सय ४१ स्थानका वनमा डढेलो लागिरहेको छ । वन डढेलोको उच्च जोखिममा रहेको लुम्बिनी प्रदेश मानिए पनि देशका अन्य प्रदेशसमेत डढेलोबाट सुरक्षित भने हुन सकिरहेका छैनन् । डढेलोबाट अहिले सबैभन्दा बढी क्षति भने चुरे क्षेत्रका वनमा भइरहेको छ । अघिल्लो वर्ष यही समयमा एक दर्जान जति स्थानमा डढेलो लागे पनि यसवर्ष भने देशका धेरै वनक्षेत्रमा डढेलो लाग्नु आफैमा दुखद् हो ।

डढेलो भनेको वनको प्रकोप भएकाले यसको नियन्त्रणमा सबै जुट्न आवश्यक छ । तर यसतर्फ कसैको पनि ध्यान पुग्न सकेको छैन । सामान्यतः हरेक वर्ष फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको यामभनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ । यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ । यसबाट बहुमूल्य जैविक विविधता र सम्पदासमेत खरानी भएका छन् । डढेलोको विस्तारसँगै देशभरि नै वायु प्रदूषणको समस्यासमेत तीव्ररुपमा बढ्दै गैरहेको छ । वायु प्रदूषण स्वास्थ्यका लागि निकै हानिकारक छ । वर्षैपिच्छे देशमा डढेलोका घटनाहरुले निरन्तरता पाइरहे पनि त्यसप्रति उच्च चासो र सरोकार भने निकै कम छ । डढेलोजन्य अवस्थालाई राष्ट्रिय विपत्तिको प्रमुख कारणका रुपमा समेत हेरिए पनि त्यसको नियन्त्रणप्रतिको सक्रियता भने निकै कम देख्न सकिन्छ । डढेलोका कारण मानवीयसँगै पशुपंक्षीमा समेत ठूलो क्षति पुगेको हुन्छ । यो क्षतिलाई रोक्नका लागि डढेलो नियन्त्रणमा प्रभावकारी कदम चाल्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update