Shittalpati
तानसेनमा चल्यो नगर सरकारको डोजर, धमाधम घर, टहरा भत्काइंदै

पाल्पा, तानसेन नगरपालिकाले ऐतिहासिक पाल्पा दरबार क्षेत्रका घर, टहरा संरचना भत्काएको छ । तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी घर, टहरा संरचनामा नगर सरकारले बुधबार विहानैदेखि डोजर लगाएको हो ।

यहाँका सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई नगरपालिकाले वैशाख ६ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो । तानसेन नगर सरकारका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरीसहित गएको डोजरले घर, टहरा तथा पसल भत्काउन सुरु गरेको हो । तानसेनको शित्तलपाटी मूलढोका र तेस्रो सडक दरबार क्षेत्र वरपर रहेका ५७ घर संरचना भत्काउन लागिएको छ ।यहाँ  अहिले दुई वटा डोजर चलेका छन् ।

 
नगर सरकारको स्वामित्वमा तानसेन–४ मा रहेका १३ वटा घरटहरासहित घरेलु शिल्पकलाका १३, नेपाल रेडक्रसको ३, कर्मचारी मिलन केन्द्रको ३, बालसंगठनको १ तथा २००२ देखी २०२२ सम्म राणाहरुले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा भत्काउन लागिएको नगर प्रवक्ता यादव सिं कार्कीले बताए । यहाँका सटरहरुमा व्यापार, व्यवसाय गर्दै आइएको थियो । नगर सकारले यी सटरहरु भत्काउने समय सिमा दिएपछि यहाँका व्यवसायीहरुले मंगलबार नै रातारात सटर खाली गराएका छन् । यहाँका अधिंकास पसलहरुको भाडासमेत वर्षौदेखि नगरपालिकाले पाएको छैन ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अवैध संरचना भत्काउन डोजर अभियानै चलाउँदा त्यसको दबाब देशैभरका पालिका प्रमुखहरुलाई पनि परेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update