Shittalpati
स्वदेशी महलाई प्रोत्साहन गर

पछिल्लो समय मौरी व्यवसायीमा किसानहरुको आकर्षण बढ्दै गएको छ । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने भएकाले पनि धेरै किसानको रोजाई मौरीपालन बनेको छ । मौरीबाट उत्पादित महबाट किसान मनग्य आम्दानी गर्न सफल भएका छन् । मह उत्पादन बढे पनि त्यसले बजार भने पाउन सकेको सकेको छैन् । यो अत्यन्त दुःखको कुरा हो । नेपालमा विदेशी महले बजार लिएको छ । जसका कारण स्वदेशी महले बजार पाउन सकिरहेको छैन । स्वदेशी महको निर्यात बढाउने उद्देश्यले गुल्मीको मुसिकोटमा ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’मा आवद्ध यहाँका कृषकहरुले सोमबार मह दिवस मनाएका छन् । यो अत्यन्त राम्रो प्रयास हो । सरकारले विदेशी मह आयातलाई निरुत्साहित गर्नुपर्ने ठाउँमा किसानले आफैले महलाई विश्वव्यापीकरण गर्ने प्रयास गर्नु आफैमा सकरात्मक मान्नुपर्छ ।

भारतबाट आयात भएको महले देशमै उत्पादित मह बिक्री हुन सकिइरहेको छैन । जसले गर्दा मौरीपालनमा आकर्षण भएका किसानहरु समस्यामा छन् । मौरीपालक किसानहरुको समस्या असंख्य छन् । मौरीलाई रोगको प्रकोपले भेट्दासमेत सही प्रकारको उपचार गर्ने पद्धति देशमा विद्यमान नहुनुले पनि किसान समस्यामा छन् । नेपाली मह उत्पादक किसानले नीतिगतमात्रै नभएर प्राविधिक समस्यासमेत भोग्न बाध्य हुनु दुर्भाग्य हो । हाल देशभरि नै बिक्री नभएर रहेको ठूलो परिमाणको मह मौज्दात रहेको छ । भारतबाट महको ठूलो परिमाण देशमा भित्रिइरहेकाले यस्तो अवस्था आएको हो । नेपालमा उत्पादित महको तुलनामा आयादित मह सस्तो पर्ने भएपनि त्यो गुणस्तरहीन छ । गुणस्तरहीन महले स्वास्थ्यमा समेत ठूलो असर गर्दछ । स्वास्थ्य जस्तो विषयमा सरकार गम्भीर बन्न आवश्यक छ । यसर्थ आयादित गुणस्तरहिन महलाई निरुत्साहित गरी स्वदेशी महलाई प्रोत्साहन गर्ने कार्यमा सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update