Shittalpati
आरोप–प्रत्यारोप हैन जनताको मन जित

आमनिर्वाचन भएको पाँच महिनापछि प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । चितवन, तनहुँ र बारा जिल्लाका तीन क्षेत्रमा अहिले उपनिर्वाचनको माहोल तातेको छ । निर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुँदै गर्दा त्यस क्षेत्रका मतदाताहरु त्यति उत्साहित भने देखिदैनन् । अझ चितवन क्षेत्र नं २ को हकमा त रास्वपाका सभापति रवि लामिछानेविरूद्ध मुद्दा हाल्ने र उजुरी दिने क्रम टुङ्गोमा नपुगिरहेको अवस्थामा पुनः उनले निर्वाचन जिते भने फेरि के हुन्छ भन्ने आशङ्काले समेत यतिखेर उत्तिकै काम गरिरहेको छ । नागरिकता प्रकरणमा अदालतबाट दोषी ठहर भएर पद गुमाएका लामिछाने यहाँबाट पुनः उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा जस्तो उनीप्रति आकर्षण नहोला, तर प्रभाव अझै पनि बलियो छ । यद्यपि काँग्रेस र एमालेका उम्मेदवारको छनोट र स्थानीय तहमा उनीहरूको प्रभाव हेर्दा निर्वाचन त्रिपक्षीय हुनेमा सन्देह छैन् । काँग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने स्थानीय तहमा राम्रो छवि र बलियो प्रभाव भएका उम्मेदवार हुन् । उनीहरूलाई पन्छाएर जित सहज बनाउन रवि लामिछानेका लागि ठूलो चुनौती भने छ ।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त बनेको तनहुँ—१ काँग्रेसका लागि प्रतिष्ठाको विषय हो भने अरूका लागि बदला लिने अवसर हो । यसमा एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई । यी दुई उम्मेदवारलाई पन्छाउँदै पार्टीको विरासत जोगाउन काँग्रेस उम्मेदवार गोविन्द भट्टराईका लागि ठूलो चुनौती छ । त्यस्तै बारा—२ लाई रणनीतिक हिसाबमा अर्को महत्वपूर्ण क्षेत्रका रूपमा लिइएको छ । यस क्षेत्रबाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त रहेको यस क्षेत्रमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । पार्टीको विरासत जोगाउनेसँगै स्वयंको प्रतिष्ठा बचाउने चुनौती यादवमा छ । आमनागरिकहरु उत्साह त्यति नभए पनि दल, उम्मेदवार र कार्यकर्ताहरु कुनै पनि हालतमा निर्वाचन आफ्नो पक्षमा पार्न सक्रिय छन् । त्यसमा पनि एक दलले अर्को दललाई र एक उम्मेदवारले अर्को उम्मेदवारलाई विभिन्न खाले आरोप–प्रत्यारोप लगाउने र गालीगलौच गर्न उद्धत देखिन्छन् । यो गलत हो । निर्वाचन भनेको मतको आधारमा छिनोफानो हुने प्रणाली हो । संसदीय व्यवस्थामा निर्वाचनलाई स्वस्थ प्रतिस्पर्धाका रुपमा लिइन्छ । निर्वाचनमा जनता समक्ष आफुलाई चिनाउने अवसर पनि हो । यसर्थ आरोप–प्रत्यारोप लगाउने भन्दा पनि आफ्ना कार्यक्रम र योजनाहरु प्रस्तुत गरेर आम जनताको मन जित्ने काममा लाग्नु दल र उम्मेदवारका लागि उचित हुनेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update