Shittalpati
बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री पोखरेलको आग्रह

रुपन्देही, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले नजिकै रहेको क्वारेन्टाइनमा गएर बस्न बाहिरबाट आएका नागरिकहरुलाई अनुरोध गरेका हुन । ‘घर जान भनेर प्रदेश ५ भित्र आइपुगेका नागरिकहरु प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनुहोला, त्यहाँ खानेबस्ने व्यवस्था छ’, मुख्यमन्त्री पोखरलेले लेखेका छन् । बन्दाबन्दीका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिक पैदल हिँडेर आ–आफ्ना घरतर्फ जानेक्रम नरोकिएपछि मुख्यमन्त्री पोखरेलले यस्तो अनुरोध गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा परेका छन् । काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आ–आफ्ना घरतर्फ लागेका छन् । काठमाडौँलगायत विभिन्न ठाउँबाट हिँडेर दिनहुँ कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा र प्युठान जानेहरु रुपन्देहीका सडकमा देखिएका छन् । गत आइतबार रुपन्देही आएकाहरुलाई सैनामैना नगरपालिकाले बसको व्यवस्था गरेर घर पठाएको थियो । उनीहरु लामो बाटो दिनरात पैदल हिँडेर आएका थिए । - रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update