Shittalpati
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’

पाल्पा, उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत नेता भण्डारीले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको बताएका छन् । सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भनेका छन्, ‘आज हामी २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं । सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहान्छु । मेरो स्वास्थ्यका कारण हजुरहरुसँग सहभागी हुन सकेको छैन् । हजुरहरुको माया, प्रेम र प्रार्थनाका कारण स्वास्थ्यमा सुधार भइरहेको छ ।’
उनले आफू छिटै नेपाल फर्किएर नेपालमै स्वास्थ्य उपचार गराउने पनि बताएका छन् । गत फागुन ३ गते आफ्नै निवास काठमाडौंको बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । घाइते आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो । सांसद भण्डारीलाई भने फागुन ४ गते थप उपचारका लागि मुम्बई लगिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update