Shittalpati
शुभ रहोस् नयाँ वर्ष

आजदेखि नयाँ वर्ष सुरु भएको छ । हामी २०८० मा प्रवेश गरेका छौं । नयाँ वर्ष शुरु भएको उपलक्ष्यमा आफन्त, साथीभाइ र चिनेजानेकालाई एक–अर्काले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन छ । त्यसै अनुरुप नयाँ वर्षको शुभकामना आदान–प्रदान गरिँदै छ । विश्वका हरेक देशमा पुरानो वर्षको बिदाइ र नव वर्षको आगमनमा स्वागत गर्ने आ–आफ्नो किसिमको कार्यशैली छ । विगतमा घटेका जे–जस्ता घटनाहरु भए पनि त्यसलाई चटक्क बिर्सिई नयाँ जोस र जाँगरलाई अगाडि बढाएर सुखद भविष्यको परिकल्पना गर्नु स्वाभाविकै हो । विगत वर्षहरुझैँ २०७९ पनि अब इतिहास भइसकेको छ । भूतकालमा भएका कमी–कमजोरी र त्रुटि सम्झिएर चिन्तित हुनुभन्दा इतिहासलाई गुरु ठानेर भविष्यको सम्यक विश्लेषण र दिशा निर्धारण गर्नतिर सचेत रहनु मानवीय धर्म हो, कर्तव्य हो ।

वि.स. २०७९ ले नव वर्ष २०८० लाई १ वर्षे कार्यकालको वार्षिक प्रगति विवरण सुम्पिएको छ । कतै बिर्सन र कतै सम्झना लायक समयको झोला बोकेर यो वर्ष बिदा भएको छ । विश्वभर फैलिएको कोभिड १९ महामारीले यो वर्ष पनि प्रभावित तुल्यायो । त्यति मात्र होइन नेपालको अर्थतन्त्रलाई नै नराम्रोसँग प्रभावित बनायो । विश्व अर्थतन्त्रमा आएको संकटले नेपालको पर्यटन, उद्योग, व्यापार र सानातिना रोजगारीका केन्द्रहरू पनि सांघुरिएका छन् । कोभिड–१९ को प्रभाव अझै पनि कायमै छ । समष्टिगत अर्थतन्त्रका सूचक हेरेर परिवारको भान्सा–भान्सामा प्रवेश गरेको संकटको वास्तविक चित्र केलाउन हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको देशमा असम्भवप्रायःछ । कोरोनाको निर्ममताको यो हृदय विदारक अवस्थाबाट हामीले ठूलो पाठक सिकेका छौं । तीनै तहका निर्वाचन भए । तर स्थिर सरकार प्राप्त हुन सकेनन् । यो वर्ष पनि सरकार भत्काउने र बनाउने खेलमै दलहरु रुमालिए । जसले गर्दा जनताले दिनहुँ सास्ती भोग्नु पर्‍यो । जनताहरु महंगीको मारमा छन् । यो वर्ष पनि अर्थतन्त्र चौपट अवस्थामा रह्यो ।

२०७९ कतै विर्सन त कतै सम्झना लायक वर्षको रुपमा रह्यो । आशा गरौँ, आगामी वर्ष मानव समुदायले कोरोनाको कहर बेहोर्न नपरोस् । आगामी वर्ष हामीलगायत समग्र विश्वका निमित्त सुख र सन्तोषको वर्ष बनोस् । हामी सबैमा दायित्वबोध र देशप्रति अगाध प्रेम बढोस् । हामी सबै स्वदेशमैं आत्मनिर्भर बनौं । कर्मशील बनौं । नव वर्षले राष्ट्र र जनताको हितमा काम गर्न सक्ने समाज, नेतृत्व वर्ग प्रदान गरोस्, हाम्रो जीवनशैली र सकारात्मक विचारको सन्देश फैलाउने प्रेरणा प्रदान गरोस्, नव वर्ष २०८० को शुभ अवसरमा स्वदेश तथा विश्वमा रहनुभएका सम्पूर्णमा हार्दिक शुभकामना !

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update