Shittalpati
बेरोजगारी समस्या र समाधान

नेपालमा बेरोजगारी समस्या विकराल बन्दै गएको छ । पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा बेरोजगारी चरम अवस्थामा पुगेको छ । बेरोजगारी मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्याको कारण भएको छ । दिनहुँ हजारौंको संख्यामा रोजगारी खोज्दै नेपाली श्रमिकहरु विदेशिन बाध्य भइरहेका छन्, भने कुनै बैंक, वित्तीय संस्था, सरकारी संस्थान तथा निजामती सेवाको सीमित सिटका लागि गरिएको विज्ञापनमा धेरै गुणा बढी संख्यामा आवेदन पर्ने गरेका छन् । माथिल्लो स्तरको शैक्षिक योग्यता भएका व्यक्तिले तल्लो तहको पदमा जागिरका लागि आवेदन दिनु पनि सामान्य नै भएको छ । यो बिडम्वनाको कुरा हो । रोजगारीका लागि ठूलो पदमा आसीन पदाधिकारी, नातेदार, सभासद र मन्त्रीकहाँ भनसुन गर्न जानेको लाइन पनि लामै छ । विदेश जान भाषा परीक्षा दिनेको संख्या, एयरपोर्टमा वैदेशिक रोजगारीका लागि विदेश जानेको लाइन, पासपोर्ट बनाउन घाममा लाइन लाग्नेको संख्याबाट पनि मुलुकको बेरोजगारी समस्या सहजै अनुमान लगाउन सकिन्छ ।

शिक्षित वा अशिक्षित बेरोजगारहरूको संख्या देशमा ठूलो छ । यसले युवाहरूलाई जीविका चलाउन गाह्रो मात्र बनाउँदैन, देशको अर्थतन्त्र पनि प्रभावित पार्ने गर्दछ । केन्द्रीय तथ्यांक ब्युरो (२०२१) का अनुसार नेपालमा कुल ८६ लाख व्यक्तिले उनीहरूको योग्यता र सीपअनुरूप रोजगारी पाइरहेका छैनन् । यसले यो कुरा पनि देखाउँछ कि देशमा निरक्षर बेरोजगारी (बेरोजगार र अशिक्षित) १८ प्रतिशत छ भने साक्षर शिक्षित बेरोजगारी (कलेजको डिग्री भए पनि बेरोजगार) दर ८ देखि ९ प्रतिशतसम्म छ । यो अत्यन्त दुखको कुरा हो । प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत केवल औपचारिकरुपमा मात्रै निर्वाह हुँदै गएको छ । त्यस्तो कार्यक्रममा सरकारले अरबौँ रूपैयाँ खर्च गरे पनि त्यसले दिने प्रतिफल भने त्यति उत्साहजनक छैन । रोजगार कार्यक्रममा आवद्ध हुन लाखौंको संख्या तत्पर रहे पनि वर्षैपिच्छे केही हजार जनालाई मात्रै केही दिनको रोजगारी उपलब्ध गराइएको छ, जसबाट समस्त नागरिकहरुको आर्थिकस्तरमा सुधार हुन सक्ने अवस्था छैन । देशमा नयाँ कलकारखाना र उद्योगधन्दा खोल्ने गतिसमेत निकै सुस्त देखिन्छ । भएका कलकारखाना र उद्योगधन्दाले समेत राम्रो काम गर्न सकेका छैनन् । यसले गर्दा बेरोजगारीको समस्या झन् भन्दा झन् विकराल बन्दै गएको छ । मुुलुुक आर्थिक रुपमा कमजोर बन्दै गएका बेला बेरोजगार समस्यालाई कम गर्नु आवश्यक छ । बेरोजगार समस्या समाधान गर्न सकियो भने पनि केही हदसम्म भए पनि मुलुकको आर्थिक अवस्था बलियो बन्छ । यसर्थ सरकारले रोजगारीका अवसरहरु सिर्जना गरी बेरोजगार समस्यालाई तत्काल समाधान गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update