Shittalpati
त्रिबक्या पाल्पामा पूर्व स्ववियु पदाधिकारीलाई सम्मान

कृष्ण पोखरेल
पाल्पा, स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले पूर्व स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । युनियनले एक औपचारिक कार्यक्रम गरी पूर्व स्ववियुलाई सम्मान गरेको हो ।

कार्यक्रममा स्ववियु सभापती कृष्ण अर्याल, प्रमुख अतिथी क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई लगायतले पूर्व स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका थिए । सम्मान गर्दै क्याम्पस प्रमुख भट्टराईले स्ववियु, क्याम्पसका लागि सहकार्यको माध्यम भएको बताए । विद्यार्थीहरुको हकहितका लागि विद्यार्थीहरुलाई परेको समस्या समाधान गर्न र क्याम्पसलाई माथि उठाउन स्ववियुको ठूलो योगदान हुने भएकाले जिम्मेवार भई काम गर्न स्ववियू पदाधिकारी तथा सदस्यहरुलाई क्याम्पस प्रमुख भट्टराईले अनुरोध गरे । पुरानो शैक्षिक धरोहरको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा पठन पाठनका लागि उपयुक्त स्थान रहेको, दक्ष प्राध्यापकहरुका कारण रिजल्ट राम्रो भएको उनको भनाई छ । डिप्लोमा तहको पठनपाठनमा क्याम्पसलाई पहिलो रोजाई बनाउने दिशामा विद्यार्थीहरु लाग्नुपर्नेमा क्याम्पस प्रमुख भट्टराईले आग्रह गरे ।

कार्यक्रमा पूर्व स्ववियु सभापति हरिबोल भट्टराईले स्ववियुमा सदस्य हुँदै लामो समयसम्म क्याम्पसमा सभापति भएर विद्यार्थीहरुको हकहितका विषयमा काम गर्दै आएको बताए । आफु निर्वाचित भएपछि सबै संघ संगठनका विद्यार्थीहरुलाई कुनै विभेद नगरी काम गरेको उनले बताए । कार्यरत संस्थामा नेतृत्व हस्तान्तरण गर्दा सर्वसमतिको स्ववियू गठन गरेर पदीय जिम्मेवारी हस्तानतरण गरेकाले सोही अनुसारको काम गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई पूर्व स्ववियु सभापति भट्टराईले अनुरोध गरे । उनले २०६५ साल देखी निरन्तर विद्यार्थीहरुको हकहितमा केन्द्रित रहेर काम गर्दै आएकाले आज पनि विद्यार्थीहरुको माया स्नेह पाईरहेकोमा खुसी लागेको पूर्व बताए ।

भोलिका दिनमा पनि पदमा नरहे पनि विद्यार्थीहरुको समस्या समाधान गर्न र क्याम्पस हितमा निरन्तर सहयोग रहने स्ववियू पूर्व सभापति भट्टराईले बताए । उनले स्ववियुप्रति विद्यार्थीको आर्कषण बढाउन विद्यार्थीहरुको हकहितका लागि १० हजार रुपैयाँको अक्षयकोष घोषणा गरे । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको राम्रो नेतृत्व क्षमता विकास गर्न र उनीहरुको क्षमतालाई चिनाउन एक जना महिला अनिवार्य पर्ने गरी दुई जना विद्यार्थीहरुलाई अक्षयकोषको व्याजबाट पुरस्कार प्रदान गरिने अक्षयकोषदाता भट्टराईको भनाई छ । कार्यक्रममा पूूर्व स्ववियु उपसभापती टिकाबहादुर थापाले त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु अनुशासित, लगनशिल, मेहनती भई आफ्नो र कलेजको शिर उचो हुने गरी अध्ययन गर्न सुझाव दिए । उनले सर्वसहमतिमाबाट स्ववियुको नेतृत्व चयन भएकाले सबैको भावनालाई समेटेर काम गर्नुपर्नेमा पूर्व उपसभापति थापाले जोड दिए । स्ववियु सभापति कृष्ण अर्यालको सभापतित्व, सदस्य शुसिल बस्यालको स्वागत, सचिव ताराबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update