Shittalpati
मानव अन्तरिक्ष विमान दिवसको सन्दर्भ

हरेक वर्षको अप्रिल १२ अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाउने गरिन्छ । आज विश्वभर नै यो दिवस मनाइँदै छ । हरेक दिवसको आ–आफ्नै महत्व र उद्देश्य हुन्छ । यो दिवसको पनि आफ्नै महत्व र उद्देश्य छ । ६२ वर्ष अगाडि अन्तरिक्ष यात्री यूरी गागरीन भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १ सय ८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो । त्यो सुखद् क्षणलाई हरेकमाझ स्मरण गराउनका लागि यो दिवस मनाउने गरिएको हो भन्दा फरक पर्दैन् । सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५ औं संस्करणले समेत हरेक वर्षको अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यो निर्णलाई सबैले सकारात्मक रुपमा लिए र यो दिवस मनाउन थालियो । रुसले यस दिवसलाई ‘कसमेनोटिक्स डे’ का रूपमा मनाउँदछ भने पूर्व सोभियत संघका कतिपय राज्य र ठाउँहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर पनि मनाउने चलन छ ।

जे भएपनि यो दिवसको मूल मर्म भनेको मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्नु नै हो । यस दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर समेत गरेको छ । अहिलेको युगमा मानिस अन्तरिक्षमा पुग्न सफल हुनुलाई यसको एउटा कडीको रुपमा लिइन्छ । विज्ञान र प्रविधिको सहायताले मानव समुदाय आज मंगल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । यसलाई अत्यन्त सकरात्मक रुपमा लिनुपर्छ । आजको प्रविधिलाई सही रुपमा प्रयोग गरी देश र जनताका लागि समर्पीत हुन पनि आजको दिनले महत्वपूर्ण भूमिका खेल्दछ । यसर्थ आजको दिनमा मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूका बारेमा चर्चासँगै आगामी दिनमा गर्न सकिने सम्भावना चुनौतीहरूका विषयमा गहन समीक्षा र छलफल हुन जरुरी छ । यसो भयो भने मात्र यो दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update