Shittalpati
लघुवित्त ‘पीडित’ सडकमा

रामचन्द्र रायमाझी
पाल्पा, लघुवित्त वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै पाल्पासहित देशभर आन्दोलन भइरहेको छ । लघुवित्त वित्तीय संस्थाहरूले आफुहरुलाई पीडा दिँदा समेत सरकार मौन रहेको भन्दै लघुवित्त पीडितहरु सडकमा उत्रिएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर सरकारलाई दवाब दिने गरी आन्दोलनमा उत्रिएका छन् ।

चैत २१ गतेदेखि शान्तिपूर्ण धर्नामा बस्दै आएका पाल्पाका लघुवित्त पीडितहरु सोमबारदेखि भने प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले सरकारले आफ्नो आवाज नसुनेको भन्दै चर्को नारासहित सडक प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेको लघुवित्त पीडित संघर्ष समिति पाल्पाले आफूहरूलाई बेवास्ता गरेको भन्दै प्रदर्शनमा उत्रिएको जनाएको छ । समितिकी अध्यक्ष कृष्ण माया आले मगरले महिलाहरुलाई उठिबास गराउँदै आत्महत्याको बाटोमा डोर्‍याउने लघु वित्तको ज्यादती अन्त्य हुनुपर्ने माग राख्दै देशव्यापी भइरहेको आन्दोलन अनुरुप नै पाल्पामा पनि सडकमा उत्रिएको बत्ताइन् । बिना धितो ऋण दिने प्रलोभन दिँदै सोझा साझा महिलाहरुलाई समूहमा राखेर थरिथरिका दर्जन बढी बचत खाता खोल्न लगाई भएभरको पैसा जम्मा गर्न लगाएर कंगाल बनाएको उनको आरोप छ ।

विभिन्न किसिमका बचत खोलेर पैसा राख्न लगाउँदै लघु वित्तहरू आफू मोटाउने तर, सदस्य महिलाहरुलाई उठिबास लगाएर अकालमा मर्न बाध्य बनाउने गरेकाले बाध्य भएर संघर्ष गर्नुपरेको उनले बत्ताइन् । विरोध र्‍यालीमा सहभागीहरू अधिकांश महिला रहेका छन् । पीडितहरूले सरकारी निकाय गैरजिम्मेवार नबन, लघुवित्त संस्थाहरूको खारेजी गर, सामूहिक ऋण मिनाहा गर लगायतका नारा लगाएका छन् । उनीहरुले ‘नवसामन्ति’को रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज हुनुपर्ने, सामूहिक ऋण मिनाह हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने माग गरेका छन् । लघुवित्त वित्तीय संस्थाका कारण आत्महत्याको बाटो रोज्नुपरेको समेत उनीहरुको गुनासो छ ।

लघुवित्तले शुरूमा घरघरमै आएर ऋण बाँडेको र पछि उठिबास लगाउने काम गरेकाले आत्महत्या रोज्नुपरेको बगनासकाली–३ नायरचौपारीकी पीडित लिनी रानाले गुनासो गरिन् । उनले भनिन् ‘दुई वर्ष अघि एउटा वित्तीय संस्थाबाट ऋण लिए, अहिले अचाक्ली ब्याजदर वृद्धि गरे, त्यसमा पनि आर्थिक मन्दीका कारण समयमा बुझाउन सकिएको छैन, तर अहिले दिनहुँ संस्थाहरुले टचर दिन थालेका छन्, जसले गर्दा म डिप्रेसनमा गएर आत्महत्या गर्ने प्रयास गरेकी थिए तर अरुले रोके ।’ बिना धितो ऋण दिने नाममा दर्जनौँ बचतमा रकम जम्मा गर्ने लघु वित्तहरूले अहिले आफुहरु समस्यामा परेको तानसेन ५ अर्चलेबाट विरोध प्रदर्शनमा आएकी लेखकुमारी गाहा सोमैले बताइन् । लघुवित्तहरूको अत्याचार अचाक्ली हुन थालेपछि आन्दोलनमा उत्रिनु परेको लघुवित्त पीडित वीरबहादुर विकले बताए । तानसेनमा विभिन्न माग समेटिएको ब्यानर र प्लेकार्ड लिएर लघुवित्त पीडितहरु प्रर्दशनमा निस्किएका थिए । उनीहरुले आफ्नो माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update