Shittalpati
प्रदेश सभामुख र तानसेनका जनप्रतिनिधिबिच छलफल

पाल्पा, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र तानसेन नगरपालिकाका जनप्रतिनिधिहरुबिच छलफल भएको छ । कानुन र विकास निर्माणका विषयमा जनप्रतिनिधि र सभामुखबिच छलफल भएको हो । छलफलमा सभामुख घर्तीले स्थानीय सरकारको महत्व छुट्टै रहेको बताए । उनले भने ‘स्थानीय सरकार संसदीय सरकार होइन । नगर प्रमुख यहाँको सरकारको प्रधानमन्त्री हो, सभालाई रूलिङ गर्ने भएकाले सभामुख हो र कानुन बनाएर प्रमाणित गर्ने राष्ट्रपति पनि हो । यसको महत्व संघीयतासँग छ ।

संघीय व्यवस्थामा प्रदेश सरकरको महत्व हुन्छ यो नभए हामी एकात्मक व्यवस्थामा जान्छौं ।’ सभामुख घर्तीले स्थानीय सरकारले योजनालाई प्राथमिकरण गरी प्रदेश सरकारलाइ दिनुपर्ने बताए । स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन, त्यसको अवस्था, सुधार गर्नुपर्ने विषयमा जनप्रतिनिधिहरूले व्यापक छलफल गरेका थिए । छलफलमा उनीहरुले कानून निर्माण गर्न जनशक्ति र क्षमताको अभाव रहेको बताएका छन् ।

कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तह कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सहितको सरकार भए पनि लौरो र हतियार बिनाको प्रहरी जस्तो भएको बताए । उनी भन्छन्, ‘तीन तहका सरकारले बनाएका ऐन, कानुनहरु एकआपसमा बाझिने अवस्था आउन नदिन सबैलाई जानकारी हुने संयन्त्रको विकास गर्नु आवश्यक छ ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेनमा ३० ऐन, ४८ कार्यविधि गरी जम्मा ७८ कानुन निर्माण भएको बताए । ‘हामी कानुन केन्द्रबाट आएको ड्राफ्टलाई हेरेर बनाउने गर्दछौं, स्थानीय आवश्यकता र औचित्यताका आधारमा गर्न प्रक्रियागतदेखि जनशक्तिसम्मका समस्याहरू छन् ।’ स्थानीय सरकारलाई नीतिगत समस्याको समाधान गर्न तथा विकासका लागि प्रदेश सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने समय आएको अधिकृत ज्ञवालीले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update