Shittalpati
व्यर्थ सय दिन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका सय दिन व्यर्थमै गुज्रियो । सरकारका सय दिनलाई ‘हनिमुन पिरियड’का रुपमा हेरिन्छ । तर यो अवधिमा सरकारले उपलब्धी मूलक काम केही पनि गर्न सकेनन् । खासमा सत्ता बनाउने र भत्काउने बाहेक अरु काम हुन सकेनन् । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटकसम्म विश्वासको मत प्राप्त गर्नु इतिहासकै दुुर्लभ घटनाका रुपमा रह्यो । यस अवधिमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा बनेको गठबन्धन सरकारले सार्वजनिक गरेको ३७ वटा महत्वपूर्ण कार्य र प्रमुख उपलब्धिका फेहरिस्तमा उसको अनुहार कहीँ कतै प्रतिविम्बित हुँदैन् । फेहरिस्त प्रस्तुत गर्दैमा जनताले सरकारको अनुभूति गर्दैनन् । यस अघिका सरकारले पनि सय दिनका उपलब्धीहरुको सार्वजनिक गरे पनि जनताले त्यसको अनुभूति गर्न सकेनन् । ति सरकारले बरु केही काम गर्न प्रयास गरेका थिए । तर अहिले प्रचण्डले त केही गर्न नै सकेनन् । उनले तानतुन पारेर उपलब्धि सार्वजनिक गर्ने कर्मकाण्ड मात्रै पूरा गरेका छन् । उनको सय दिने कार्यकाल अत्यन्त निराशाजनक भएर बितेको छ । अस्थिरताको अर्को नाम बन्नेतर्फ उद्यत् प्रचण्डले फेरि सत्ताकै लागि देशलाई भुमरीमा लैजाँदै गरेको सय दिनको कामले संकेत गरेको छ ।

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको सुरुआती खल्लो एक सय दिनले आमनागरिकलाई निराश बनाएको छ । यसपटक उनीसँग कुनै बहाना बनाएर उम्कने सुविधा छैन । तर सुरुआती सय दिनको काम गराइले उनी संसदीय दलदलमा नराम्ररी भासिएका एक असफल राजनीतिक नेतृत्व बन्दैछन् । त्यसको उदाहरण उनले यसबीच पार्टीका कार्यकर्ता बचाउ र केही एजेन्डाहरूमा भएको निर्णयले पुष्टि गर्छ । जनयुद्धका बेपत्ता र मृतकहरूको विवरण प्रमाणित, रकम वितरणको निर्णय र जनयुद्व दिवसमा सार्वजनिक विदा दिनेबाहेक उनले केही निर्देशन दिनेमात्र काम गरेको देखियो । सत्ता टिकाउन प्रधानमन्त्री दाहालले सत्ताका सहयात्री फेर्दैमा समय बिताइदिए । अझै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनले आफ्नो समय आफू कसरी सत्तामा टिक्ने भन्नेमै व्यकितत गरेका छन् । उनको कामबाट सत्तापक्षकै नेताहरू सन्तुष्ट देखिँदैनन् । उनले यस अवधिमा अर्थतन्त्रलाई सही दिशामा ल्याउन गृहकार्य गर्नेदेखि पारदर्शी ढंगले विकासलगायत सबै काम गरी सुशासन दिनुपथ्र्यो । तर त्यो हुन सकेन । व्यर्थमै सय दिन गुज्रिए पनि अबका दिन यसरी बित्नु हुँदैन । काम गर्ने हुटहुटी भएका प्रचण्डले अब जनतालाई प्राथमिकतामा रराखेर काम गर्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update