Shittalpati
राजस्व सुधारका लागि छलफल

पाल्पा, पछिल्लो समय स्थानीय तहको आन्तरिक आय अवस्था अत्यन्त कमजोर देखिएको छ । संविधान र स्थानीय सरकार सञ्चारलन ऐन र अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले स्थानीय तहको कर संकलनको दायरा स्पष्ट गरे पनि राजस्व परिचालन गर्न नसक्दा आन्तरिक आय कमजोर देखिएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा आवश्यक तालिमको अभावमा राजस्व संकलन हुन नसकेको हो । स्थानीय तहले राजस्व सुधार गर्न नसक्दा संघीय र प्रदेश सरकारमा निर्भरता हुनुु परेको छ । स्थानीय तहको आन्तरिक आय कमजोर बन्दा स्थानीय सरकार आफैँ वित्तीय रूपमा सक्षम हुन नसेकाका हुन् ।

आन्तरिक आम्दानी कमजोर बन्दै गएका बेला जिल्लाको रामपुर नगर सरकारले भने राजस्व सुुधारका लागि आवश्यक छलफल र गोष्ठिलाई अगाडि बढाएको छ । उसले आन्तरिक आय वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा राजस्व सुुधार कार्ययोजना सम्बन्धी छलफल चलाएको हो । प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको वित्तीय सहयोग र अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाडौको प्राविधिक सहयोगमा नगर सरकारले राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी अभिमुखिकरण तथा कार्यशाला सञ्चालन गरेको छ ।

कार्यशालामा नगर भित्रको आन्तरिक राजस्व कसरी वृद्धि गर्ने , कुन–कुन क्षेत्रबाट राजस्व संकलन गर्ने, स्थानीय सरकारको वित्तीय स्रोत, करको दायरा नगरपालिकाको आन्तरिक स्रोत वृृद्धिका लागि स्रोतको पहिचान र राजस्व सम्बन्धी व्यापक छलफल भएको छ ।
छलफलमा नगर प्रमुख रमणबहादुर थापाले नगरपालिकाले अपेक्षा गरे अनुसारको आन्तरिक आम्दानी गर्न नसक्दा योजना तथा विकास निर्माणमा बाधा पुगेको बताए । उनले नदिजन्य पदार्थ उत्खनन् गर्न नपाएकाले पनि राजस्व कम उठ्दा आन्तरिक आम्दानी कमजोर बन्न पुगेको उल्लेख गरे । नगरपालिकामा आवश्यक नीति र कार्यविधि नबन्दा अन्य स्रोतबाट राजस्व संकलन गर्न नसकिएको भन्दै नगर प्रमुख थापाले आगामी दिनमा प्रक्रियागत ढंगबाट करको दायरा बढाउने र आन्तरिक आम्दानीमा वृद्धि गरिनेमा जोड दिए । उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक बालकुमारी थापाले लक्ष्य अनुसारको राजस्व नउठेको भन्दै यसका लागि सबै सरोकारवालाहरुको परामर्शमा करको दायरा बढाउन आवश्यक रहेको औँल्याईन् । उनले जति करको दायरा बढ्छ त्यति नै नगरपालिकाको आन्तरिक आम्दानी बढ्ने र आवश्यक योजना सञ्चालन गरी विकासले गति लिने धारणा व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले दिगो विकासका लागि आन्तरिक आम्दानी नभई नहुने स्रोत भएको भन्दै ऐन नियम र कार्यविधि बनाएर राजस्व संकलन गर्नु पर्नेमा जोड दिए । संघबाट आउने अनुदानले मात्र स्थानीय तहको योजना सञ्चालन र विकास सम्भव नभएको भन्दै उनले आन्तरिक स्रोतको पहिचान गरी राजस्व संकलन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा अलाना ईन्टरनेशनल सर्भिसेज प्रालिका कार्यक्रम निर्देशक तथा सहजकर्ता विके महर्जनले स्थानीय तह आफ्नै खर्चले धान्न सक्ने हुनु पर्ने बताए । उनले रामपुर नगरपालिकामा आन्तरिक आय वृद्धिका लागि स्रोतको पहिचान गरी कार्यान्वयन गर्न आग्रह गरे । यस्तै सहजकर्ता माण्डुबाबु अधिकारीले स्थानीय तहले राजस्वलाई आधार मानेर योजना तय गर्नु पर्ने बताए । उनले सरकारले चाहे नागरिकबाट कर उठाउन सक्ने भन्दै प्रविधिको प्रयोग गरी कर तिर्न सहज गर्नु पर्नेमा जोड दिए । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले न्यायोचित र समतमूलक ढंगले करको दायरा निर्धारण हुन आवश्यक रहेको भन्दै कर तिर्ने उचित वातावरण सिर्जना गर्न आग्रह गरे । उनले आन्तरिक राजस्व बृद्धिका लागि बनाईएका नीति तथा कार्यविधिको सहि कार्यान्वयन गर्नु पर्ने बताए । योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update