Shittalpati
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६८ औं साधारण सभा

पाल्पा, पाल्पा उद्योग वाणिज्य संघले ६८ औं वार्षिक साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमकाबिच तानसेनमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हरि रायमाझीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै पूर्वअध्यक्ष रायमाझीले जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा संघले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले संघ संस्थागत स्वार्थभन्दा माथि उठेर उद्योगी, व्यवसायीहरुको पक्षमा सधैव क्रियाशिल रहेको भन्दै संघको प्रशंसा गरे ।

उनले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताए । रायमाझीले भने,‘मुलुकको आर्थिक विकासमा उद्योगी, व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहे पनि सरकारले त्यो विषय बुझ्न सकेन्, अहिले बैंकको चर्को व्याजदरका कारण व्यसायी समस्यामा छन् ।’ उद्योगी, व्यवसायीहरुको समस्याप्रति सरकार उदासिन रहेकाले सरकारका विरुद्ध आफुहरु अब संघर्षमा उत्रिनुु पर्ने बेला आएको समेत उनले बताए । उनले जिल्लाबाट व्यवसायीहरु पलायन हुने स्थिति आएकाले उनीहरुलाई रोक्न संघले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्नुको विकल्प नरहेको समेत बताए । संघका अध्यक्ष शैलेन्द्र भट्टराईले देशभित्रको राजनीतिले स्पष्ट खाका कोर्न नसकिरहेको अवस्थामा नीजि क्षेत्रले उद्योग, व्यवसाय क्षेत्रमा लगानी मैत्री वातावरण बनाउँदै आर्थिक, सामाजिक रुपान्तरणबाट देशको विकासमा सहयोगी भूमिका खेल्दै आएको बताए । उनले भने,‘हामीले मुलुुकको विकासमा ठूलो भूमिका खेलेका छौं तर सरकारले नै हामीलाई विश्वास गर्न सकेको छैन् , हाम्रा समस्याप्रति सरकार उदासीन छ ।’ राज्यले नीजि क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष भट्टराईले बताए । उनले बैंकको अस्वभाविक व्याजदर वृद्धिले उद्योगी, व्यवसायीहरुले आत्महत्या गर्न र व्यवसायीबाट पलायन हुनुुपर्ने अवस्था सिर्जना भएको भन्दै त्यसका विरुद्ध संघले संघर्ष गर्ने उल्लेख गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष राजु महर्जनले उद्योगी व्यवसायीहरुको एकता आजको आवश्यकता रहेकाले तानसेनको पर्यटन विकासमा एक भएर लाग्ने बेला आएको बताए । उनले पूर्वधार अभावमा पर्यटकहरु भित्र्याउन नसकेको धारणा व्यक्त गरे । संविधान सभा सदस्य नारायणी शर्माले जिल्लाको आर्थिक विकासमा संघले खेलेको भूमिका महत्वपूर्ण रहेको बताईन् । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूूर्व अध्यक्ष अर्जुमान सैजु, बुुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दिनेश श्रेष्ठ, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्र घिमिरे, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरे, नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरे, राष्ट्रिय जनमोर्चा पाल्पाका सचिवालय सदस्य नरमती सिंजाली, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव सुमन गैरे, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्की, करदाता सेवा कार्यालय पाल्पाकी कर अधिकृत गीता पाण्डे, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुुक्तिप्रसाद न्यौपाने लगायतले संघको सफलताको शुुभकामना व्यक्त गर्दै जिल्लाको आर्थिक विकाससँगै उद्योगी, व्यवसायीहरुको हितमा संघले नयाँ ढंगले सोच्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष विनायक महर्जनले आर्थिक वर्ष २०७९÷०८० को एक करोड ६१ लाख ९४ हजार ४ सय ४४ बराबरको आयव्यय प्रस्तुत गरेका थिए । संघका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता, उपाध्यक्ष भिमबहादुर श्रेष्ठको धन्यवाद ज्ञापन र महासचिव समिरमान सिंहको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update