Shittalpati
गुल्मीमा निजामती कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन

गुल्मी,गुल्मीमा नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनद्वारा नयाँ वर्षको शुभकामनासंगै भित्तेपत्रो विमोचन गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘राष्ट्रियता, निष्पक्षता, तटस्थता र कर्मचारी एकता’ भन्ने मुख्य नारासहित औपचारिक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान संगै भित्तेपत्रो विमोचन गरिएको हो ।

नेपाली काँग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नयाँ वर्ष २०८० सालको भित्तेपात्रोको विमोचन गरेका हुन् । भित्तेपात्रोको विमोचन गर्दै नगर प्रमुख पन्थीले नयाँ वर्षले जनताको पक्षमा सहज काम गर्न प्रेरणा मिलोस् भन्दै समुन्नति आधार तयार गर्न शुसासन आवश्यक पर्ने बताए ।

उनले सुशासन कायम गर्न निजामती कर्मचारीको महत्वपूर्ण भुमिका रहेको बताए । संघीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नका लागि सम्बन्धित पक्षसँग आग्रह गर्ने उनले उल्लेख गरे । पन्थीले निजामती कर्मचारी प्रशासनिक पुँजी भएकाले गम्भीरतापूर्वक निर्धक्क भएर जनताको पक्षमा सहज ढंगबाट सेवा प्रवाह गर्न आग्रह गरे ।

नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमिति सभापति जयश्वर पन्थीले नयाँ वर्ष फलदायी बनोस् भन्दै सबैले निजामती सेवामा मुस्कान सहितको सेवा प्रवाह गर्नुपर्ने बताए । निजामती कर्मचारी ट्रेड युनियनका अध्यक्ष खिमबहादुर अधिकारीले संघीय निजामती सेवा ऐन कर्मचारीको हकहितमा रहेर जारी गर्न माग गरे ।

नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुँवरले जिल्लामा कर्मचारी युनियनले सार्वजनिक सेवा प्रवाह र सामाजिक उत्तरदायित्वको क्षेत्रमा महत्वपूर्ण भूूमिका खेलेकोमा प्रशंसा गर्दै सुशासन युक्त समाज निर्माणमा युनियन आवद्ध कर्मचारीहरुलाई नयाँ बर्षसँगै थप उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

कर्मचारी युनियनका जिल्ला अध्यक्ष मेघलाल पाण्डेको अध्यक्षता, उपाध्यक्ष खिमराज पोख्रेलको स्वागत,सचिव डिलबहादुर थापा सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update