Shittalpati
रामपुरमा राजस्व सुधार कार्ययोजना सम्बन्धी छलफल

पाल्पा, जिल्लाको रामपुरमा राजस्व सुुधार कार्ययोजना सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजना , प्रदेश सुशासन केन्द्र लुम्बिनी प्रदेशको वित्तीय सहयोग र अलाना ईन्टरनेशनल सर्भिसेज प्रा.लि. काठमाडौको प्राविधिक सहयोगमा राजस्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धी अभिमुखिकरण तथा कार्यशाला भएको हो ।

कार्यशालामा नगर भित्रको आन्तरिक राजस्व कसरी वृद्धि गर्ने , कुन–कुन क्षेत्रबाट राजस्व संकलन गर्ने, स्थानीय सरकारको वित्तीय स्रोत, करको दायरा नगरपालिकाको आन्तरिक स्रोत वृृद्धिका लागि स्रोतको पहिचान र राजस्व सम्बन्धी व्यापक छलफल भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरपालिकाले अपेक्षा गरे अनुसारको आन्तरिक आम्दानी गर्न नसक्दा योजना तथा विकास निर्माणमा बाधा पुगेको बताए । उनले नदिजन्य पदार्थ उत्खनन् गर्न नपाएकाले पनि राजस्व कम उठ्दा आन्तरिक आम्दानी कमजोर बन्न पुगेको उल्लेख गरे । नगरपालिकामा आवश्यक नीति र कार्यविधि नबन्दा अन्य स्रोतबाट राजस्व संकलन गर्न नसकिएको भन्दै नगर प्रमुख थापाले आगामी दिनमा प्रक्रियागत ढंगबाट करको दायरा बढाउने र आन्तरिक आम्दानीमा वृद्धि गरिने बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक बालकुमारी थापाले लक्ष्य अनुसारको राजस्व नउठेको भन्दै यसका लागि सबै सरोकारवालाहरुको परामर्शमा करको दायरा बढाउन आवश्यक रहेको औँल्याईन् । उनले जति करको दायरा बढ्छ त्यति नै नगरपालिकाको आन्तरिक आम्दानी बढ्ने र आवश्यक योजना सञ्चालन गरी विकासले गति लिने धारणा व्यक्त गरिन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले दिगो विकासका लागि आन्तरिक आम्दानी नभई नहुने स्रोत भएको भन्दै ऐन नियम र कार्यविधि बनाएर राजस्व संकलन गर्नु पर्ने बताए । संघबाट आउने अनुदानले मात्र स्थानीय तहको योजना सञ्चालन र विकास सम्भव नभएको भन्दै उनले आन्तरिक स्रोतको पहिचान गरी राजस्व संकलन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा अलाना ईन्टरनेशनल सर्भिसेज प्रालिका कार्यक्रम निर्देशक तथा सहजकर्ता विके महर्जनले स्थानीय तहले आफ्नो सञ्चालन खर्च आफ्नै खर्चले धान्न सक्ने हुनु पर्ने बताए । उनले रामपुर नगरपालिकामा आन्तरिक आय वृद्धिका लागि स्रोतको पहिचान गरी कार्यान्वयन गर्न आग्रह गरे । यस्तै सहजकर्ता माण्डुबाबु अधिकारीले स्थानीय तहले राजस्वलाई आधार मानेर योजना तय गर्नु पर्ने बताए । उनले सरकारले चाहे नागरिकबाट कर उठाउन सक्ने भन्दै प्रविधिको प्रयोग गरी कर तिर्न सहज गर्नु पर्नेमा जोड दिए । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले न्यायोचित र समतमूलक ढंगले करको दायरा निर्धारण हुन आवश्यक रहेको भन्दै कर तिर्ने उचित वातावरण सिर्जना गर्न आग्रह गरे । उनले आन्तरिक राजस्व बृद्धिका लागि बनाईएका नीति तथा कार्यविधिको सहि कार्यान्वयन गर्नु पर्ने बताए । कार्यशालामा आन्तरिक राजस्व प्रतिको बुझाई, आम्दानी कम हुनुका कारण, स्थानीय तहको वित्तीय स्रोत, राजस्व लक्ष्य र परिचालनको अवस्था लगायतका विषयमा सहजकर्ता विके महर्जन र माण्डुबाबु अधिकारीले सहजिकरण गरेका थिए । कार्यक्रममा नगरपालिका भित्रका वडा अध्यक्ष , जनप्रतिनिधि, उद्योगी व्यवसायी, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको स्वागत, योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update