Shittalpati
एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम

पाल्पा, एसईई दिएका विद्यार्थीले निःशूल्क रुपमा मोवाइल सिम पाउने भएका छन् । नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने भएको हो । उसले एसईई दिएका विद्यार्थीहरुलाई लक्षित गरी एसईई २०७९ अफर उपलब्ध गराउन लागेको छ । कम्पनीले विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध गराउने जनाएको छ ।

यो अफर शुक्रबारदेखि सञ्चालनमा आएको छ । योजना ३ महिना (९० दिन) सम्मका लागि रहने छ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलब्ध गराइनेछ । यस्तो सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्ने छन् । उनीहरुले एक महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएससहितको सुविधा प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यसअनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update