Shittalpati
कार्यसम्पादनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट

कृष्ण पोखरेल
पाल्पा, जिल्लाभरका स्थानीय तहको कार्यसम्पादन सूचक बापतको मूल्यांकनमा रैनादेवी छहरा गाउँपालिका उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानिकरण अनुदानका लागि विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गर्दा यहाँका १० पालिकामध्ये सो गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको हो । सूचकमा कूल १०० अंकमध्ये रैनादेवी छहरा गाउँपालिकाले ७१.१७ अंक पाएको छ ।

उत्कृष्ट नतिजा हासिल गरेसँगै गाउँपालिकाले आगामी वर्षका लागि ६० लाख समानिकरण अनुदान पाउने भएको छ । यसैगरी पूर्वखोला गाउँपालिका दोस्रो भएको छ । पूर्वखोलाले ६७.७९ अंक प्राप्त गरी ५७ लाख अनुदान पाउने छ, भने तेस्रोमा बगनासकाली गाउँपालिका छ । बगनासकालीले ६४.४४ अंक प्राप्त गरी ५४ लाख अनुदान पाउने भएको छ । चौथोमा निस्दी गाउँपालिका छ । जसले ५९.०९ अंक प्राप्त गरी ५० लाख समानिकरण अनुदान पाउने भएको छ । वित्त आयोगले गरेको १७ सूचकको मूूल्याङकनमा रम्भा गाउँपालिका पाँचौ छ । उसले ५७.२८ अंक प्राप्त गरी ४८ लाख अनुदान पाउने छ । तासेन नगरपालिका र रामपुर नगरपालिकाको अवस्था भने उस्तै उस्तै रहेको छ । रामपुरले ५६.८८ अंक र तानसेनले ५६.७६ अंक प्राप्त गरेका छन् । दुबै नगरपालिकाले समानरुपमा ४८ लाख अनुदान पाउने छन् । माथागढी गाउँपालिकाले ५२.९३ अंक प्राप्त गरी ४५ लाख, रिब्दीकोटले ५०.०३ अंक प्राप्त गरी ४२ लाख र तिनाउ गाउँपालिकाले ४८.६० अंक प्राप्त गरी ४१ लाख अनुदानका लागि वित्त आयोगले नेपाल सरकार अर्थमन्त्रालयलाई सिफारिस गरेको छ ।

आगोगले विभिन्न १७ वटा सूचकहरुमा गरेको मूल्याङकनमा चालु आर्थिक वर्षको बजेट निर्धारित समयमै गाउँ तथा नगरसभामा पेश गरी असार मसान्तभित्र पारित गरेको, स्थानीय सरकारले लिने घर जग्गा, विज्ञापन तथा मनोरञ्जन करको ४० प्रतिशत प्रदेश सरकारमा दाखिला गरेको, आगामी बर्षका लागि आय व्ययको विवरण संघीय अर्थमन्त्रालयमा पेस गरिसकेको, बजेट कार्यान्वयको विषयमा पारित गरी कार्तिक मसान्त भित्र सार्वजनिक गरेको, अनुमानित राजश्व संकलन अनुसारको राजश्व संकलनको अवस्था, बेरुजुको अवस्था जस्ता सूचकहरु रहेका छन् । यसैगरी वित्त आयोगले तोकेका अन्य सूचकहरुमा आवधिक योजना तर्जुमा, कक्षा १ देसख १० सम्म विद्यार्थी भर्ना, टिकाउ सिकाई उपलब्धीको अवस्था, ४ पटकसम्म गर्भजाँच र अस्पतालमा हुने सुत्केरीको अवस्था, दुई बर्षसम्मका बालबालिकाको खोपको अवस्था, वित्त आयोगले तोकेको विषयबस्तु अनलाईमा अपडेट गरेको अवस्थाका विषयवस्तुमा मूल्याङकन गर्दा पाल्पामा रैनादेवीछहरा गाउँपालिका उत्कृष्ट भएको हो ।

वित्त आयोगले निर्धारण गरेका १७ वटा सूचकहरुमा आधारित भएर गाउँपालिकाले काम गर्दै आएको र सोही अनुसार जिल्लामा उत्कृष्ट अंक र अनुदान पाउँदा खुसी लागेको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराईले बताए । उनले उत्कृष्ट अंकले आफुहरु नियम कानुन र जनताको पक्षमा काम गर्न सफल भएको महसुश भएको बताए । आगामी बर्ष अहिलेको भन्दा अझै उत्कृष्ट अंक र अनुदान रकम बढाउने गरी काम गर्ने अध्यक्ष भट्टराईले बताए । वित्त आयोगले गरेको स्थानीयतह कार्यसम्पादन मुल्याङ्कनमा जिल्लामै उत्कृष्ट हुन पाउँदा हामी कर्मचारीहरुमा पनि काम गर्ने उर्जा थपिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । पालिकाका जनप्रतिनिधी, कर्मचारीहरु एक आपसमा समन्वय, सहकार्य, ऐन नियम कानुनमा आधारित भएर काम गरेका कारण वित्त आयोगको स्थानीयतह कार्यसम्पादनमा जिल्लामा उत्कृष्ट भएकोमा गर्व लागेको पालिकाका सूचना अधिकृत नारायण मल्लले बताए । वित्त आयोगले विभिन्न सूचकहरु निर्धारण गरी प्रदेश तथा स्थानीय सरकारलाई कार्यसम्पादन मूल्याङकन गर्ने, प्राप्त अंकको आधारमा विभिन्न शिर्षकमा बजेटका लागि संघीय तथा प्रदेश मन्त्रालयमा सिफारिस गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update