Shittalpati
फेरि कोभिडकै भय

केही समय कम भएको कोभिड–१९ महामारीले फेरि बढ्दो रुप लिएको छ । यसले गर्दा आम नागरिकमा फेरी भयको सिर्जना गरिदिएको छ । नेपालमा एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । पछिल्लो एक सातामा ४ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । अहिले देखिएको संक्रमण कोरोना भाइरसको नयाँ भेरियन्ट हो । कोरोना भाइरस ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबिबी १.१६’ नेपालमा पुष्टि भएको छ । यो छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट हो । यसले पनि जनमानसमा फेरी पनि त्रास सिर्जना गराएको छ । कोरोना हाम्रो समयको अहिलेसम्मको सबैभन्दा त्रासदीपूर्ण महामारी हो । यसको प्रकोप र प्रभाव हामीले देखे÷भोगेका छौं । धेरैले यसकै कारणबाट प्रिय आफन्त गुमाएका छन् ।

हालका दिनहरूमा कोरानाको नयाँ भेरियन्टको संक्रमण बढिरहेको छ । तर आम नागरिक र सरकारले यसको सर्तकताप्रति भने खासै चासो देखाएका छैन । यो अत्यन्त दुःखको कुरा हो । संक्रमण बढ्दै गएकाले अब सबैले सचेतना अपनाउन र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुु अपरिहार्य भएको छ । संक्रमण रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउनु अहिलेको आवश्यकता हो । महामारीले फेरि नयाँ स्वरुप लिदै गएको अवस्थामा कसैले पनि खोप लगाउन नभुलौं, सबै खोप लगाउनेतर्फ जागरुक बनौं । सावधानी नपनाएका कारण यसको संक्रमण व्यापक भयो भने भोलिका दिनमा पहिले जसरी लकडाउनको स्थिति भोग्नुपरेको खण्डमा हाम्रो जीवनका चौतर्फी क्षेत्र प्रभावित बन्न पुग्छन् । सरकार र चिकित्सकहरूले दिएको सल्लाह र सुझाव अनुसार मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, खानपानमा सतर्कता अपनाउने, धेरै भीडभाड भएका ठाउँमा नजानेजस्ता सावधानी अपनाउने हो भने निश्चय कोरोनालगायत अरू संक्रमणबाट जोगिन सकिन्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update