Shittalpati
खेलकुद दिवसको सन्दर्भ

अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले अनुमोदन गर्दै सन् २०१४ मा अप्रिल ६ तारिकलाई विश्व खेल दिवसको रुपमा मनाउने घोषणा गरेको हो । सन् १८९६ अप्रिल ६ तारिकमा ग्रीसको एथेन्समा आयोजित पहिलो ओलम्पिक खेलकुदको उद्घाटनको सम्झनामा यूएन र आईओसीले संयुक्त रुपमा विश्व खेल दिवस मनाउन थालेको हो ।

नेपालमा भने सन् २०१५ देखि यस दिवस मनाउन सुरु गरिएको हो । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि यो दिवस मनाउने गरिन्छ । नेपालमा हरेक वर्ष यो दिवस मनाइए पनि खेलकूद विकासमा देखिएका समस्याहरु भने जस्ताको तस्तै छन् । यो अत्यन्त दुःखको कुरा हो । देश विकासमा खेलकुदको अहम भूमिका रहेको छ । अहिलेसम्म बाटो, बिजुली, पर्यटन लगायतका अरू आधारभूत कुरालाई मात्र विकासको आधार मानिँदै आएको छ । वास्तवमा खेलकुद विकास र समृद्धिको छैठौं पूर्वाधार हो । स्वस्थ शरीर र स्वस्थ समाजका लागि खेलकुद अपरिहार्य छ । खेलकुद विकासको थालनी भएको लामो कालखण्ड बितिसक्दा पनि नेपाली खेलकुदको गति भने निकै सुस्त र निरास नै देखिन्छ । विश्व खेलकुदसँग तादम्यता मिलाउँदै सफलताको शिखर चुम्न अगाडि बढ्नुपर्ने २१औं शताब्दीको यो चुनौतीपूर्ण क्षणसम्म आइपुग्दा नेपाली खेलकुद भने आफ्नै परिवेशद्वारा सृजित विभिन्न समस्या र अप्ठ्यारासँग लुकामारी खेल्नमा व्यस्त देखिन्छ ।

नेपाली खेलकुदले आफ्नो सफलतामा गर्व गर्न सक्ने क्षण पटक्कै नआएको भने होइन । तर, यस्ता क्षणको साक्षी बन्न पाउने सुखद अवसर आम नेपाली खेल समर्थकले निकै कममात्र पाएका छन् । पक्कै पनि विगतको तुलनामा यतिबेला नेपाली खेल क्षेत्रको दायरा केही फराकिलो बनेको छ । देशभित्र हुने खेल गतिविधिहरू उल्लेख्यरूपमा बढेको छ । अन्तर्राष्ट्रिय खेल गतिविधिमा सहभागिता र सफलताको क्रम पनि क्रमशः बढ्दो छ । तर, अझै पनि आम खेल समर्थकले चाहे र सोचेअनुरूप सफलताको सिँढी उक्लन सकिरहेको छैन् । यो आफैमा विडम्बनाको कुरा हो । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्नेछ । यसतर्फ सरकार सम्बन्धित निकायको ध्यान जान सके मात्र खेलकूद दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update