Shittalpati
‘सहकारी दिवस’ले जगाएको उत्साह

रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय एकपछि अर्को सहकारी भाग्ने क्रम बढेको छ । आर्थिक विचलनका कारण निक्षेप दिन नसकेपछि कतिपय सहकारी बन्द गरेर भागेका समाचारले सहकारी संस्थामा आवद्ध सदस्यहरु चिन्तित बनिरहेका बेला यस वर्षको सहकारी दिवसले भने केही उत्साह जगाएको छ । पाल्पामा सञ्चालित सहकारीहरुमा त्यस्तो कुनै घटना नभए पनि देशका अन्य ठाउँमा भएका घटनाका समाचारले भने यहाँका शेयर सदस्यहरुमा निराशा पैदा भएको थियो । पछिल्ला दिनहरुमा देशका कतिपय ठाउँका सहकारीमा देखिएका समस्याबाट निराश भएका पाल्पाका शेयर सदस्यहरु सोमबार दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमबाट भने उत्साहित भएका छन् ।

विगतका सहकारी दिवसमा सहकारी संघ संस्थाहरुले समान्य रुपमा औपचारिकता पुरा गर्न कार्यक्रम गर्दै आए पनि यस पटक भने स्थानीय सरकारसँगको समन्वयमा वृहत रुपमा ६६ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् । सहकारीको कार्यक्रमलाई स्थानीय सरकारले समेत चासो देखाएपछि शेयर सदस्यहरुमा केही उत्साह जागेको हो । तानसेनमा तानसेन नगरपालिका, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा वृहत सचेतनामूलक र्याली सहित अन्तक्र्रिया भएको थियो । यहाँका सहकारी संस्थाहरूले विभिन्न सचेतनामूलक लेखिएका प्लेकार्डहरु सहित र्याली निकालेका थिए । र्यालीपछि भएको अन्तक्र्रिया कार्यक्रममा स्थानीय सरकार, संघीय सरकारका प्रतिनिधि, राष्ट्रिय सहकारी महासंघका प्रतिनिधिहरुले सहकारीको वर्तमान अवस्थाका बारेमा स्पष्ट रुपमा आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले केही सहकारीमा समस्या देखिए पनि सबै सहकारीमा त्यस्तो अवस्था नरहेकाले ढुक्क भएर कारोबार गर्न आग्रह गरेका थिए । उनीहरुले बाहिर आएको हल्ला जस्तो सहकारीमा समस्या नभएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले समेत सहकारीलाई बलियो बनाएर लैजाने दिशामा लागेको बताएका छन् । कार्यक्रममा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले सहकारीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले निम्न आयका भएका व्यक्तिहरुको जीवनस्तरमा समेत सहकारीले उल्लेखीय काम गरेको भन्दै सहकारीको विकास र विस्तारमा तीनै तहका सरकारको चासो रहेको उल्लेख गरे ।

सहकारी दिवस मनाउने क्रममा तानसेनमा देखिएको उत्साहजनक सहभागिताले समेत सहकारीप्रतिको विश्वास बढेको उनले बताए । सांसद गैरेले भने,‘सहकारीप्रति गाउँ टोलमा विश्वास र भरोसा बढेको छ ।’ राष्ट्रिय सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष रमेश प्रसाद पोखरेलले यस वर्षको सहकारी दिवसको थिम ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’का बारेमा जानकारी गराउदै सहकारीको मर्म र भावना अनुसार नचल्ने सहकारीहरुमा केही समस्या देखिए पनि सबै सहकारीमा त्यस्तो नरहेको बताए । उनले भने,‘सहकारीमा कुनै पनि समस्या छैन्, बरु समस्यामा परेकाहरुको लागि सहकारी सहयोगी बन्दै आएका छन् ।’ सहकारीलाई प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा उनले जोड दिए । उपाध्यक्ष पोखरेलले नीति विधि र प्रविधिमैत्री बनेर काम गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे । उनले दिवसमा देखिएको उत्साहजनक सहभागिताले सहकारीलाई थप बलियो बनाउनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डे, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्टराई, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सीना, सहकारी अभियान्ता महेश्वर पन्त लगायतले राष्ट्रको समृद्धिका लागि सहकारी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । उनीहरुले सहकारीले गरेको सहयोगले गाउँबस्तीका किसानलाई अर्थ उपार्जनमा टेवा पुगेको बताए । नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको स्वागत, नगरपालिकाका सहकारी विभाग प्रमुख दुुर्गा थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा महत्वपूर्ण योगदान पुर्याउने सहकारीलाई कदरपत्रले सम्मान समेत गरिएको थियो । जिल्लाका अन्य पालिकाहरुमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरणमा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाइने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update