Shittalpati
सहकारी दिवसको औचित्य

‘सहकारीको दिगोपनाः स्व–नियमन र सुशासन’ भन्ने मूल नाराका साथ सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा वि.सं. २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते सहकारी दिवस मनाउने गरिएको हो । पाल्पा लगायत अधिकांस जिल्लाहरुमा विगतमाभन्दा अलि फरक ढंगले सहकारी दिवस मनाइएको छ । विगतमा सहकारी संस्था र त्यससँग सम्बन्धित संघहरुले सामन्य रुपमा कार्यक्रम गरी दिवस मनाउने गरे पनि यस पटक भने स्थानीय सरकारसँगको समन्वयमा सहकारी संघ संस्थाहरुले वृहत्त रुपमा कार्यक्रम आयोजना गरी मनाएका छन् । यो आफैमा सकरात्मक मान्नुुपर्छ । सहकारीको दर्ता, प्रवद्र्धन र नियमनको जिम्मेवारी पाएका स्थानीय सरकारले सहकारी दिवसमा कार्यक्रम आयोजना गरी राम्रो कामको सुुरुवात गरेका छन् । यसले सहकारी प्रति स्थानीय सरकार उत्तरदायी रहेको महशुस गर्न सकिन्छ ।

देशभर झण्डै ३० हजारको हाराहारीमा सहकारी संस्थाहरु छन् । देशभरको कुल रोजगारीलाई हेर्दा सहकारी क्षेत्रले १० प्रतिशत रोजगारी उपलब्ध गराएको छ । सहकारी संघसंस्थाहरु मार्फत प्रवद्र्धन हुने सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सिर्जनात्मक कार्यक्रमहरु सहित मनोरञ्जनमूलकसँगै खेलकुद र रक्तदान लगायतका गतिविधिहरुमा समेत राम्रो छाप पर्न सकेको कयौं उदाहरणहरु छन् । त्यसले सहकारीप्रतिको विश्वसनीयता थप बढाउनमा मद्दत पुगेको छ । सर्वसुलभरुपमा सेवासुविधाहरु उपलब्ध गराउने उद्देश्य बोकेका कारण पनि सहकारीहरु समाजमा लोकप्रिय अवस्थामा छन् । सहकारी क्षेत्रमा देशको ठूलो अर्थतन्त्रको हिस्सा रहेको भएपनि संघीय प्रदेश र स्थानीय सरकारबाट सहकारी क्षेत्रका सवाललाई कसरी सम्बोधन गरिने हो भन्ने हालसम्म प्रस्ट हुन सकेको छैन । यो अत्यन्त दुःखको कुरा हो । सहकारीलाई थप सक्रिय र चलायमान बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्दछ । सहकारीको समग्र अभियानको मूल लक्ष्य भनेकै समाज रुपान्तरणका लागि ऐक्यबद्धता रहेको हुँदा त्यसलाई नै विशेष प्राथमिकता दिएर जनजीविकामा सहजता ल्याउँने काममा स्थानीय सरकारले ध्यान दिनुपर्छ । यसो भयो भने मात्र सहकारी दिवस मनाउनुको औचित्य रहन्छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update