Shittalpati
अटिजम जागरुकता दिवसको सन्दर्भ

अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यो दिवस पहिलो पटक २००८ मा मनाइएको थियो । नोभेम्बर १, २००७ मा, संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष एक दिनलाई विश्व अटिज्म दिवसको रूपमा घोषणा गर्न भनेको थियो । सोही अनुरुप डिसेम्बर १, २००७ मा संयुक्त राष्ट्र साधारण सभाले अप्रिल २ लाई विश्व अटिज्म जनचेतना दिवस भनेर तोकेको हो । त्यस यता हरेक वर्ष विश्वमा ओटिज्म भएका व्यक्तिको अधिकार र पहिचान सुनिश्चित एवं चेतनाको अभिवृद्धी गर्ने उद्देश्यले विश्व ओटिजम जनचेतना दिवस मनाउने गरिएको हो । अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर व्यक्त गर्न नसक्ने समस्या भन्ने बुझिन्छ । अटिजम जेनेटिक र वातावरणीय प्रभावका कारण हुने गर्दछ ।

पछिल्लो समय विश्वमा अटिजम चुनौतीपूर्ण स्वास्थ्य समस्याको रुपमा बढीरहेको छ । नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक भने छैन । अटिजमको समस्याबाट गुज्रिरहेकाहरुको उपचार र नियन्त्रणका लागि त्यसको तथ्यांक राख्न आवश्यक छ । स्पेक्ट्रम डीसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतर केटी भन्दा केटाहरुमा ४ गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने गरेको छ । अटिजम विकासात्मक विकारको अवस्था हो र यो जीवनभर नै रहने एक अपाङ्गता हो । यो समस्या कुनै पनि जाती, वर्ग र आर्थिक सामाजिक अवस्थाको व्यक्तिहरुमा पनि देखिन सक्छ । अटिजम भएका व्यक्तिहरुलाई साधारण सञ्चार र सामाजिक कठिनाईदेखि जीवन यापनमा सदा अरुको सहायतामा जीउनु पर्ने अवस्था हुन्छ । यो समस्या जति ढिलो थाहा हुन्छ उनीहरुको उपचारमा पनि झन् ढिलो हुनुको साथै अवस्था जटिल हुँदै जान्छ । यस कारण यो समस्या समयमा पहिचान गर्न सकियो भने जटिलता हुनबाट बचाउन सकिन्छ । यसर्थ समाजमा अटिजम समस्या भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई तत्काल उपचारमा संलग्न गराउन सकियो भने अटिजम जागरुकता दिवस मनाउनुले सार्थकता पाउन सक्छ । अन्यथा यो दिवस औपचारिकतामा मात्र समिति हुन सक्छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update