Shittalpati
गुल्मीको नयाँ गाउँमा विउपलको प्रदर्शनी, किसानले गरे साटासाट

गुल्मी, जिल्लाको धुर्कोट गाउँपालिका –१ नयाँ गाउँमा रैथाने विउपलको प्रदर्शनी गरिएको छ । स्थानीयस्तरमा रैथाने विउपलको संरक्षण गर्ने उद्देश्यले त्यसको प्रदर्शनी गरिएको हो ।

प्रर्दशनीमा ७९ प्रजातिका रैथाने विउपल राखिएको थियो । त्यहाँ पुग्ने किसानले आवश्यक पर्ने विउ लैजाने र आफुसँग भएको विउ प्रदर्शनीमा राख्ने गरेका थिए । प्रदर्शनीमा लट्टे, सेतो सिलम, कालो सिलम, मेथी, काल जिरा, कालो तिल, चनसुर, फापर, फिलेङ्गे, कौडे मकै, स्थानीय सेतो, तोराया, तोरा, चिचिण्डो, घिरौंला, लौका, झुसे करेला, कवेली, बर्खे सोस्ता, मुले सिमी, सिमी असारे, हिउँदे सिमी, घिउ सिमी, बकुले सिमी, सानो सेतो केराउ, सरसिम, धनिया, चिप्ले भिण्डी, मास, झलिंगे, गहत, अरहर, खैरो भट्टमास, कवेली, जौ, स्थानीय ठूलो गहुँ, सानो टुडे गहुँ, धान, हाँसा गहुँ, कोदो, तरुल, गिठा, स्थानीय अदुवा ,स्थानीय बेसार, भुई स्याउ लगायतका स्थानीय विउपल राखिएको थियो ।

कार्यक्रममा रासायनिक मल र विषादीको प्रतिस्थापनका लागि सहभागीहरुलाई जिवा अमृत र विजा अमृतको महत्व तथा फाईदाको बारेमा समेत जानकारी गराइएको थियो । कृषि प्राविधिक भावना महत र मदन जिसीले जिवा अमृत र विजा अमृतका बारेमा जानकारी गराउनुको साथै बनाउने अभ्यास पनि गराएका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले कृषकहरुलाई रैथाने विउको प्रयोग गर्न आग्रह गरे । उनले हाईव्रिड विउपलको प्रयोग भन्दा पनि रैथाने विउपलको प्रयोग गर्नु अहिलेको आवश्यकता र राम्रो हुने बताए । प्रमुख भण्डारीले भने ‘रैथाने विउपलको प्रतिस्थापन गर्दे गर्दा उत्पादनमा ह्रास आई श्रीलंकामा जस्तै नेपालमा पनि भोकमरीको अवस्था सिर्जना हुन सक्छ, त्यसतर्फ सबैले ध्यान दिऊ ।’ रैथाने विउपलको संरक्षण गर्नुको साथै उन्नत जातका विउपलको प्रयोग गरी उत्पादन बढाउन उनले कृषकलाई आग्रह गरे । उनले भने ‘खेतमा जस्तो फल्छ, पेटमा त्यस्तै जाने हो,त्यसकारण विषादी रहित उत्पादन गरौं ।’

कार्यक्रममा वडा अध्यक्ष चेतमान कुंवर,कार्यपालिका सदस्य विमला पाध्यवति सुनार, वडा सदस्य चन्द्र सुनार, सामाजिक जागरण तथा विकास अभियान (साडेक) नेपालका कार्यकारी निर्देशक विष्णु प्रसाद भण्डारी लगायतले रैथाने विउको प्रयोग गरी उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
  KZE Misereor Germany  को आर्थिक सहयोग कारितास नेपालको सञ्चालन र सामाजिक जारण तथा विकास अभियान (साडेक) नेपाल गुल्मीको साझेदारीमा सञ्चालित सामाजिक कल्याण र दिगो कृषिका लागि महिला सशक्तिकरण कार्यक्रम अन्र्तगत Asian pasific / Apex  को आर्थिक सहयोग र नयाँ गाउँ झल्याकोट कृषि तथा पशुविकास महिला सहकारी संस्थाको आयोजनामा विउपल प्रदर्शनी कार्यक्रम गरिएको हो । सहकारीका अध्यक्ष गोमादेवी पोखरेलको अध्यक्षता, सदस्य राधा पोखरेलको स्वागत, साडेक नेपालका लेखापाल वसन्त खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update