Shittalpati
‘अप्रिल फूल’ : ख्याल गरौं

आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा विश्वभरका मान्छेहरु एक अर्कालाई मुर्ख बनाउने र झुट बोल्ने, ठट्टा गर्ने गर्छन् । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । रमाइलोका रुपमा आजको दिनलाई लिने गरिन्छ । यस दिन आफ्ना शत्रुबाट मात्र होइन आफ्नै मित्रहरूबाट पनि होसियार रहनुपर्छ । अप्रिल फूललाई मुर्ख दिवस पनि भनिन्छ । यो दिवस लगभग विश्वभरी नै मुर्ख दिवसका रूपमा मनाइने गरिन्छ ।

हरेक देशमा आ–आफ्नो ढंगले यो दिवस मनाइए पनि हरेक व्यक्तिको उद्देश्य चाहिँ रमाइलो गर्नु नै हुन्छ । यो किन र कहिलेदेखि मनाउन थालियो भन्ने यकिन भने छैन । यद्यपी मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम्मलाई नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो । तर, जसले १ जनवरीलाई नयाँ वर्षको पहिलो दिन मान्थे उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले । १६ औं शताब्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो । तर युरोपका अन्य धेरै सहरहरूमा त्यसबेलासम्म पनि अप्रिललाई वर्षको पहिलो महिना वा अर्थात् नयाँ वर्षकै रूपमा मान्ने गरिन्थ्यो । यसरी नै अप्रिल फूलको सुरूवात भएको हो । हिजो आज नेपाल र भारतमा पनि अप्रिलको पहिलो तारिखका दिन एकले अर्को व्यक्तिलाई झुक्याउने र मुर्ख बनाउने चलन बढेको छ ।

यहाँ आजको दिन एकाबिहानैदेखि दिनभर नै कयौंलाई मुर्ख बनाएर हाँसोे मज्जा गरी मनाइन्छ । यस दिवसको सन्दर्भमा साधारण हाँसो र ढाँट्ने क्रममा धेरैले असाधारण घटनाको सामना समेत गर्नुपरेका समाचार पनि सुन्नमा नआएको होइन । मज्जा गर्ने नाममा अरुलाई दुःख दिनु चाही राम्रो होइनन् । कुनै पनि संकृति पर्व र दिवस मनाउँदा त्यसको मौलिकताको अनुसरण गर्नुपर्छ । तर क्षणिक मनोरञ्जनका लागि कसैलाई आघात पर्ने गरी गर्नु किमार्थ उचित हुँदैन । कसैलाई पनि असाधारण पीडा नदिई स्वच्छ र रमाइलो तरिकाले सामूहिक हाँसो र रमाइलो गरी मनाउनु राम्रो हुन्छ । यसले संस्कृतिलाई समेत थप प्रश्रय दिन्छ । विश्वभरका विभिन्न जातजाति, धर्म, भेषभूषा, चलनचल्ती र भाषाभाषीहरूको आ–आफ्नो मौलिक संस्कृति छन् । ति संकृति र परम्पराको सम्वद्र्धन तथा जगेर्ना गर्नु सम्पूर्ण मानवहरूको परम कर्तव्य पनि हो । पछिल्लो समयमा अप्रिल फुललाई मजाकको रुपमा लिई एकले अर्कालाई मुर्ख बनाउने प्रवृति बढेको देखिन्छ । विभिन्न सामाजिक सञ्जालमार्फत होस् वा फोन कल मार्फत होस् एक अर्कोलाई मुर्ख बनाइ रमाइलो गरिने भएता पनि कहिलेकाहीँ संवेदनशीलता ख्याल नगरी मजाक गर्दा कुनै अप्रिय घटनाहरु पनि घट्न सक्ने कुरालाई भने ख्याल गरिनु जरुरी छ ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update