Shittalpati
प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी

कृष्ण पोखरेल
पाल्पा, प्रेस चौतारी नेपाल पाल्पाले तानसेन नगर कमिटी गठन गरेको छ । तानसेनमा भएको चौतारीको भेलाले पत्रकार गुणवती केसीको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।
जसको उपाध्यक्षमा सिर्जना कार्की ,सचिवमा पवित्रा पराजुली कोषाध्यक्षमा सुमित्रा कंडेल चयन भएका छन् । यसैगरी कमिटीको सदस्यमा र्सिजना बोहोरा, संजिला कार्की र सुजाता खराल रहेको चौतारीले जनाएको छ । कमिटी गठन कार्यक्रममा बोल्दै प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज कमलराज तिमिल्सिनाले पाल्पामा पुरुषको तुलनामा महिला पत्रकारहरुको कमी भएको समयमा प्रेस चौतारीकै ईतिहासमा महिला पत्रकार मात्र रहेको तानसेन नगर कमिटी गठन भएको बताए । हरेक संघ संगठनमा पुरुषहरुको बाहुल्यता रहे पनि हालै गठन भएको प्रेस चौतारी तानसेन नगर कमिटीमा महिला मात्र रहँदा महिलाको आवाजहरु अबका दिनमा बुलन्द रुपमा आउने सह–ईन्चाज तिमिल्सीनाले विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयले प्रेस चौतारी नेपाल आस्थाको रुपमा नेकपा एमालेको विचारसँग नजिक रहेकाले जनताले राष्ट्रले रुचाउने,जनमुखी भएर पत्रकारिता गर्न नवनिर्वाचित पदाधिकारीहरुलाई अनुरोध गरे । प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीले पाल्पामा महिला पत्रकार कम भएकाले महिलाहरुलाई पत्रकारीताको मुल धारमा ल्याउन, उनीहरुलाई क्रियाशिल बनाउन, समाजमा टिक्ने र विक्ने बनाउन तानसने नगर कमिटीमा महिलाहरु लाई मात्र जिम्मेवारी प्रदान गरिएको बताए ।

प्रेस चौतारी पाल्पाले जिल्लाका दश वटै पालिकामा संगठन विस्तार गर्ने क्रममा तानसेन नगरपालिकाबाट काम शुरु गरेको जिल्ला अध्यक्ष कार्कीले बताए । भेलामा प्रगतिशिल लेखक संघका जिल्ला अध्यक्ष राम प्रसाद अर्याल, नव निर्वाचित अध्यक्ष गुणवती केसी लगायतले प्रेस चौतारीले जिल्लामा उदाहरणीय काम गर्दै आएको, संगठनमा क्रियासिल हुँदा, पत्रकारीताको विकाससँगै व्यक्तिगत क्षमतामा बृद्धि हुने बताए । भेला निवर्तमान अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षता र सचिवालय सदस्य सन्तोष बस्यालको सञ्चालनमा भएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update