Shittalpati
मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । दाहालले योसँगै तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरे ।

नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । काँग्रेसबाट ४ जना मन्त्री बनेका छन् । आन्तरिक विवादका कारण काँग्रेसले पाउने ४ मन्त्रालयमा पछि मन्त्री पठाइने भएको छ । पहिलो चरणमा काँंग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री बनेका छन् । त्यस्तै माओवादीबाट शक्ति बस्नेत मन्त्री बनेका छन् । उनले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका वेदुराम भुसाललाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्ययक्षसमेत रहेका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् विस्तार भए पनि सरकारले पूर्णता भने पाएको छैन । कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयअहिले पनि मन्त्रीविहन रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update