Shittalpati
पालिकामा सेवा विस्तार गर्दै पाल्पा आँखा अस्पताल

पाल्पा, झण्डै ४ दशकदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको पाल्पा लायन्स लाकोल आँखा अस्पतालले पाल्पाका सबै पालिकाहरुमा सेवा विस्तार गर्दै जाने बताएको छ । जिल्लाका रामपुर नगरपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकामा सेवा विस्तार गरिसकेको अस्पतालले १० पालिकामा आफ्नो सेवालाई विस्तार गर्ने गरी अगाडि बढेको हो ।

नेत्र ज्योति संघले सुुरुवात गरेको मुख्य अस्पताल पाल्पा लायन्स लाकोल आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । आँखा जस्तो संवेदनशील क्षेत्रको उपचार सबै नागरिकको पहुँचमा पुर्‍याउने गरी पाल्पाका सबै पालिकामा सेवा विस्तार गर्ने कार्यलाई अगाडि बढाइएको नेत्रज्योति संघ तथा अस्पतालका सभापति बुद्धिप्रसाद शर्माले बताए । उनले भने ‘अस्पतालको सेवालाई चुस्त र प्रभावकारी बनाउँदै आम नागरिकको पहुँचमा सहज र सरल रुपमा सेवा दिनु हाम्रो दायित्व हो सोही अनुसार हामी लागेका छौं ।’ बिहीबार आफ्नै कार्यालयमा कार्यलयले गरेका गतिविधिहरुको बारेमा जिल्लाका पत्रकारहरुलाई जानकारी गराउँदै सभापति शर्माले अहिलेसम्म तानसेनसहित चार वटा पालिकाबाट सेवा सञ्चालन गर्दै आएको र आगामी दिनमा छिट्टै नै अन्य पालिकाहरुमा पनि सेवा विस्तार गरिने बताएका हुन् । अस्पतालले गुल्मी र अर्घाखाँचीमा समेत आफ्ना डाक्टरमार्फत शल्यक्रियाको सेवा दिदै आएको समेत शर्माले जानकारी गराए । अस्पतालले एक जना विशेषज्ञ डाक्टरबाट सेवा दिइरहेको छ । उसले नेपाल सरकारले लागुको गरेको स्वास्थ्य विमाको सेवा समेत सञ्चालन गर्दै आएको छ । अस्पतालले चस्माको एक हजारसम्म निशूल्क गर्ने गरेको सभापति शर्माले बताए । उनले भने ‘हामी स्वास्थ्य विमा अन्तर्गत चस्माको लागि एक हजार सम्म र अन्य विमाभित्र पर्ने औषधि निःशूल्क उपलब्ध गराउँदै आएका छौं ।’

डाक्टर अभावका कारण अस्पतालाई सेवा प्रवाहमा केही चुनौति रहेको नेत्र ज्योति संघका सचिव भिमसेन कार्कीले बताए । उनले भने ‘हामीसँग एक जना मात्र डाक्टर हुनुहुन्छ, उहाँबाटै पाल्पा, गुल्मी र अर्घाखाँचीसम्म हेर्नुपर्ने हुन्छ ।’ पहाडी जिल्लामा डाक्टर आउन नै नमान्ने गरेका कारण डाक्टरको अभाव रहेको सचिव कार्कीले बताए । उनले भने ‘डाक्टर आए पनि केही समय बस्ने र ठूला ठूला अस्पतालमा जान खोज्ने गर्दा आँखा अस्पतालहरुलाई समस्या भएको छ ।’ २०२३ मा ३८ हजार विरामीहरुको उपचार गर्ने लक्ष्य लिएको अस्पतालले साउनदेखि फागुनसम्म २२ हजार ९ सय ८८ जनाको उपचार गरिसकेको अस्पतालका कार्यक्रम संयोजक सन्तोष दर्जीले बताए । कार्यक्रममा पत्रकारहरुले अस्पतालको सेवा प्रभावकारी भए पनि कर्मचारीको सेवाग्राहीहरु प्रतिको व्यवहार राम्रो हुन नसकेको गुनासो गरे ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update