Shittalpati
एसईई परीक्षा मर्यादित होस्

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १६ हजार ५ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो । त्यसैले उनीहरु सुरक्षित भविष्य खोज्दै एसईईको महासंग्राममा जुट्दैछन् । पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा पनि हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । जे–जस्तो अवस्था आए पनि परीक्षा उत्तीर्ण गर्नुपर्छ भन्ने मानसिकता आम विद्यार्थी र अभिभावकमा हुुने गर्दछ । परीक्षाको सफलतासँगै त्यसले भविष्य निर्धारण गर्ने भएकाले एसईई जस्तो परीक्षालाई जो कोहीले पनि सामन्य रुपमा लिन सक्दैन । फलामे ढोकाका रुपमा समेत लिइएको एसईई परीक्षा भविष्यका कर्णधारका रुपमा रहेका लाखौँ विद्यार्थीहरुले गरेको लगानीको परिणाम देखाउने महापरीक्षा पनि हो । त्यसैले परीक्षालाई व्यवस्थित, मर्यादित बनाउने विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।

विद्यार्थीहरुको भविष्यसँग जोडिएको विषयमा खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन । परीक्षा बोर्डले परीक्षालाई शान्त, अनुुसाशित, मर्यादित बनाउने भनेको छ । यद्यपि परीक्षा नसकिन्जेलसम्म व्यवस्थित रुपमा सञ्चालन हुन सक्छ कि सक्दैन ? भन्ने प्रश्न भने यथावत् नै रहन्छ । विद्यार्थीहरुलाई शान्त र निर्धक्कसँग परीक्षा दिने वावातरण सबै पक्षबाट हुनुुपर्छ । परीक्षामा बाह्य हस्तक्षेप हुनु, परीक्षा हलमा अनुशासनहीनताले बढवा पाउनुजस्ता सम्भावनालाई नकार्न सकिँदैन । तर यस्ता गतिविधि रोक्नका लागि परीक्षाको समयमा राम्रोसँग अनुगमन गरिनुपर्छ । यसो भयो भने विद्यार्थीले ढुक्क र निर्धक्कसाथ परीक्षा दिन सक्ने छन् । परीक्षा केन्द्रको आन्तरिक वातावरण तथा परीक्षा केन्द्रभन्दा बाहिरको आसपासको बाह्य वातावरणले परीक्षालाई शान्तिपूर्ण, मर्यादित तथा अनुशासित बनाउने दिशामा महत्व राख्छ । जिम्मेवारी तथा दायित्व निर्वाह गर्ने दिशामा कुनै किसिमको मुलाहिजा तथा कन्जुस्याइँ गर्नु हुँदैन । परीक्षार्थीले मनोवैज्ञानिक त्रास, आस भयबाट मुक्त भई निर्धक्क ढङ्गबाट परीक्षामा सहभागी हुने वातावरणतर्फ सरोकारवालाको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । परीक्षाको न्यूनमत मर्यादा र आचारसंहितालाई पालना नगर्ने जो–कोही सरोकारवाला तथा परीक्षाका केन्द्राध्यक्ष र निरीक्षकलाई आचरण अनुसार पुरस्कार र दण्ड जरिवानाको कार्यान्वयन गरिएको खण्डमा अवश्य पनि उत्साहजनक परिणाम पाउन सकिन्छ । यसर्थ परीक्षालाई मर्यादित, अनुशासित तथा भयरहित बनाउने दिशामा सबैको ध्यान जाओस् । एसईई दिने सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना !

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update