Shittalpati
गुल्मी युनाइटेड साकोसका अध्यक्षमा गुणानिधि शर्मा

रमेश विश्वकर्मा
गुल्मी । गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा गुणानिधि शर्मा निर्विरोध चयन भएका छ्न् । संस्थाको १२ औं साधारणसभा तथा ५ औं अधिवेशनमा शर्मा अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

गत पुस १२ गते जिल्ला सदरमुकाम तम्घासमा संस्थाको अधिवेशनमा शर्माको प्रतिद्वन्दीका रुपमा अध्यक्ष पदमा अरु कसैले उम्मेदवार दिएका थिएनन् । उपाध्यक्षसमेत अरू सबै पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको बताइएको छ । पुस २५ गते शुक्रबारसम्पन्न निर्वाचनमा उपाध्यक्षमा २ जना, सचिवमा २ जना, कोषाध्यक्षमा ३ जना र सदस्यमा १३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचनमा उपाध्यक्षमा रामप्रसाद पन्थी शेयर सदस्य नं २२९ ले ३ सय ४३, सचिवमा रामप्रसाद पन्थी शेयर सदस्य नं। ३२ ले ३ सय २९ र कोषाध्यक्षमा तुल्सिराम पाण्डेले ३ सय ४७ मत प्राप्त गरी निर्वाचित भएका छ्न् ।

त्यस्तै सदस्यमा विनोद पाण्डे ४ सय ४५, जमुना न्यौपाने ४ सय ४३, निर्मला खत्री ४ सय ४१, किशोरप्रसाद मरासिनी ४ सय ३५, प्रकाश भलामी ४ सय १०, युवराज भण्डारी ४ सय ४, मनिराम अर्याल ३ सय ८९, शोभाखर पाण्डे ३ सय ५३ र सावित्रा आचार्यले ३ सय ४१ मत प्राप्त गरि निर्वाचित भएका हुन् । वि। सं। २०६४ सालमा स्थापना भएको यो संस्थामा कूल १२ सय बढी सदस्य भएकोमा शेयर मतदाता मध्ये ९ सय ५६ मतदाता रहेका र बाँकी नाबालक छन् । जस्मा ६ सय ४७ मत अर्थात् ६८% मत खसेको निर्वाचन समितिले जनाएको छ ।

सामाजिक क्षेत्रमा पनि काम गर्दै ?

संस्थाले अहिलेसम्म शेयर सदस्यहरुको आर्थिक समृद्धिको साथै सामाजिक दायित्वका क्षेत्रमा समेत काम गर्दै आएको छ । शिक्षाको स्तरोन्तिका लागि रेसुंगा बहुमुखि क्याम्पसलाई पचास हजारका साथै अन्य क्षेत्रमासमेत आर्थिक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष शर्माले जानकारी दिए । त्यस्तै बजार क्षेत्रमा अपराध नियन्त्रणमा सहयोग पुर्याउनका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मी मार्फत् सिसि क्यामेरा जडानको लागि पनि आर्थिक सहयोग गरेको अध्यक्ष शर्माले बताए ।

रेसुङ्गामा आउने जाने तिर्थालुहरुको लागि विश्राम स्थल बनाउने अहिलेको नीति तथा तथा कार्यक्रममा उल्लेख गरिएको छ । रेसुङ्गाको संरक्षण र पर्यटन विकासमा टेवा पुर्याउने यो संस्थाको उदेश्य भएकोले यो नीति नै पास गरेको अध्यक्ष शर्माले बताए । सदस्यहरूको व्यावसायिक उद्दमशीलता मार्फत् पर्यटन विकासको लागि संस्थाले आगामी दिनमा अन्य सहकारी तथा सरोकारवाला सँस्थाहरूसँग सहकार्य गर्ने नीति सभाले पारित गरेको बताइएको छ ।

अब नवनिर्वाचित अध्यक्ष शर्माले के गर्छ्न् ?

समाजको आर्थिक समृद्धि, शेयर सदस्य र समुदायको हित र कल्याणका लागि सहकारीको राष्ट्रिय अभियानलाई गुल्मी युनाइटेडले पनि जिल्लाबाट सबैलाई एकताबद्ध बनाएर साथ दिने अध्यक्ष शर्माले बताए । त्यस्तै राष्ट्रिय सहकारी अभियान अनुसार जिल्लाको सहकारी आन्दोलनलाई प्रभावकारी रुपमा अगाडि लैजानको लागि गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग पुर्याउने बताए ।

उनले यो संस्था वितिय क्षेत्रमा एकल उदेश्य सहकारी भएतापनि भोलिका दिनमा विशिष्टीकरण सहकारीहरु, उदेश्यमूलक सहकारी गठन गरी व्यवसायिक र उत्पादनमुखी क्षेत्रमा पनि सहकारीले महत्त्वपूर्ण काम गर्ने जानकारी दिदै भने "गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्थाले सदस्यको नेतृत्व विकास गर्दै सदस्यको आर्थिक गतिशीलतालाई सहजीकरण र व्यवसायिक उद्यमशिलता क्षेत्रमा लगानी गर्नेछ ।" यो संस्थाले अन्य सहकारीहरुलाई पनि एकीकरणको लागि आह्वान गर्ने र सामुहिक कोष निर्माण गरेर लगानी गर्ने नीति लिनेछ । स्थानीय सरकार र प्रदेश सरकारसंग समन्वय र सहकार्य गर्दै सहकारीलाई व्यवसायिक ढङ्गले उत्पादनमुखीतर्फ लैजाने अध्यक्ष शर्माको भनाई रहेको छ । उनले यसकालागि सदस्यता विस्तार र अन्य सहकारीहरुसंग एकीकरण र सहकार्यमा काम गर्ने बताए ।

सहकारीको तरल र स्थीर रहेको कोषलाई एकीकृत गरेर सहकारीको व्यवसायिकरण र उद्यम विकास लगानीका लागि विशेष प्रयास गर्ने अध्यक्ष शर्माले बताए । आर्थिक गतिशीलताबाट मात्र व्यक्तिको समृद्धि संभव भएको हुँदा उनले सहकारीमा आबद्ध नभएका नागरिकहरुलाई पनि सहकारीमा आबद्ध हुन आग्रह गरेका छन्।

सहकारीले के गर्छ ?

सहकारीले घरको आर्थिक विकासमा पनि ठूलो सहयोग पुर्याउछ भन्दै अध्यक्ष शर्माले भने "सामाजिक सम्बन्ध, परिवारको जीवनशैलीमा रूपान्तरण, सामाजिक कल्याण र विकासमा पनि सहकारीले सहयोग पुर्याउदै आएको छ ।" सहकारीले सेवा प्रदान गर्नुका साथै उद्दमशीलता र व्यवसायिकताको वातावरणको निर्माण पनि गर्दछ । ग्रामीण समाज सहरोन्मुख गराउनको लागि आर्थिक विकास गर्ने सबैभन्दा ठूलो संस्था सहकारी भएको बताए । सहकारीले संस्थागत र संरचनागत रुपमा समाज परिवर्तन गर्न सहयोग गर्ने हुनाले यसलाई मजबुत बनाएमा समृद्धि आउने अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update