Shittalpati
मिल्यो भागबण्डाःआज मन्त्रिपरिषद् विस्तार हुँदै

पाल्पा, लामो समयको कसरत पछि सत्तारुढ गठबन्धन दलहरूबीच भागबण्डा मिलेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।

मन्त्रालय भागण्डा र सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको सत्ता साझेदार दलको बैठकले काँग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्रलाई ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय दिने गरी बाँडफाँटको सहमति जुटाएको छ । भागबण्डा मिले पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे भने यकिन भइसकेको छैन । आज मन्त्रिपरिषद्रु विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण गराउने गरी तयारी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम खाका ल्याउने तयारीमा जुटेका छन् । बिहीबार सपथ ग्रहण गराउने गरी प्रधानमन्त्री तयारीमा लागेका छन् । गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने देखिएको छ  । आज सत्ता साझेदार दलको बैठक बसेर मन्त्रीहरुको टुँगो लाग्ने छ । नेकपा एकीकृत समाजवादी पार्टीबाट भने बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको छ ।

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दस दलीय गठबन्धनले सरकारको साझा न्युनतम कार्यक्रमको ड्राफ्टलाई अन्तिम रूप दिएको छ । प्रधानमन्त्री प्रचण्डले अहिले विवादमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ कार्यक्रममा समावेश गरेका छन् । गठबन्धनले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी रहेका काम दुई वर्षभित्र पूरा गर्ने प्रतिवद्धता लिएको छ । त्यसका लागि द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूर्णको व्यवस्था गर्ने नीति सरकारको छ । सरकारले शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिको कार्यान्वयन गर्ने नीतिसमेत साझा न्युनतम कार्यक्रममा समावेश गरेको छ । संसदमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक यथाशिघ्र पारित गरी आयोग गठन गर्ने र आयोगलाई आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराउने साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update