Shittalpati
अन्यौलताको राजनीति

नेपालको राजनैतिक चरित्रले फेरि नयाँ रुप लिने तयारी थालेको आभास हुन्छ । सरकार बदलिने र मन्त्री फेरिने, मन्त्रायलय घट्ने, थपिने काम अत्यान्तै तिव्रताका साथ चलायमान भएको आभास हुँदैछ । संघीय र प्रदेश सांसदहरु अहिले राजधानी र नेताको निवासमा धाउँने क्रमलाई दृष्टिगत गर्दा असारे मेलो जस्तै भएको अनुभूति हुँदै गएको छ । मागेर, धर्ना दिएर, कमिशन खुवाएर, गुट बनाएर जे हुन्छ त्यही गरेरै भएपनि पद पाउनुका लागि हतारिने प्रवृतिले मुलुकले पीडावोध गरिरहेको कुरा भने कुनै पनि नेताले महशुस गर्न सकेका छैनन् । त्यसै कारण राजनैतिक विरासतलाई भजाउँने भजनमण्डलीहरुको राजधानी मेलाले कतिलाई खुसी र धेरैलाई दुखी बनाउने प्रायः निश्चित जस्तै छ । जुनसुकै पार्टी सरकारमा आएपनि, प्रवृति फेरिएन, सिंहदरवार राजधानीबाट घर–घरमा पुग्न सक्यो तर प्रवृति र संस्कार अनि लम्पसारवादले संघीय राजधानी छोड्न सकेन । देशले भोगिरहेको आर्थिक मन्दी र वित्तीय संकटलाई नेता र पार्टीले कहिले बुझ्ने हुन् भन्ने प्रश्न जनताको मुखमा मन्त्र जस्तै जपिरहने खालको परम्परावादी नकारात्मक चिन्तनले सकारात्मकताको छहारी कहिल्यै पनि भेट्न सक्ने अवस्था रहेन ।

हरेक राजनैतिक परिवर्तन पछि प्राप्त सरकारका प्रत्येक क्रियाकलापमा जनउत्तरदायित्व देखिएन । सम्भावनाका हरेक पलहरु निराशा र नकारात्मकताको मैदान खडा गर्ने काममा मात्रै व्यस्त भएको देखियो । जनता सधँै नेताका दास भए, नेता शासक भए, कार्यकर्ता मंहगा भए अनि जनताको बजार सधैँ तरल बन्दै गयो । त्यसकारण पनि सरकार र नागरिक बीचको सम्बन्ध शासकीय शैलीको प्रचुरता संगै रुमलिएको खलपात्र पात्रै बन्ने तरखार बाहेक केही पनि हुन सकेन । अबका दिनमा बन्ने सरकारले दिने डेलिभरी नै सबै भन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरा सरोकारवालाले नबुझ्दा सम्म यो अन्यौलता सधैँभरी रहिरहने छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update