Shittalpati
एमालेलाई कमजोर बनाउने खेल भएको छ : अध्यक्ष ओली

रामचन्द्र रायमाझी
पाल्पा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउने खेल भएको बताएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा मंगलबार पाल्पाको तानसेनस्थित दमकडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दश गठबन्धन र बाह्य शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास गरेको बताएका हुन् ।

एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले सबैले कजोर बनाउने खेलमा लागेको उनले बताए । ‘हामी विरुद्ध कमजोर बनाउने खेल भएको छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उनले भने, ‘अब अरु एकातिर, एमाले अर्काेतिर भए पनि कमजोर हुँदैनौ बरु ग्रासरुट अभियानमार्फत अझ सशक्त भएर आउँदो चुनावमा बहुमत सांसद जित्छौं । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ ।’ एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेलेको भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।

दशदलीय गठबन्धनले एमालेले अघि सारेका राम्रो योजनाहरुको समेत बजेट रोक्ने काम गरेको आरोप लगाए । उनले भने ‘हामी सरकारमा रहँदा सडक, पूर्वाधार र उर्जाका क्षेत्रमा राम्रा कामको थालनी गरेका थियौं, केही काम सम्पन्न भएपनि केही कामले गति लिएको अवस्था थियो तर अहिलेको गठबन्धन सरकारले ति कामहरु अलपत्र छाडेको छ ।’ अध्यक्ष ओलीले देश बनाउने खेल ख्याल ख्यालमै भएको समेत बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संकेत गर्दै भने ‘कहिले कता कहिले कता ?, पहिले भएको गठबन्धन टुटाएर काँग्रेसले प्रधानमन्त्री नबनाउने भएपछि एमालेको शरणमा आए, हामीले पनि प्रचण्ड सुधिएलान् भनेर प्रधानमन्त्री बनायौं तर सुध्रिएनन्, एमालेले प्रधानमन्त्री बनाएपछि काँग्रेससँग कुरा मिल्छ भन्दै उता गए ।’ ‘झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’ साथै सरकार बनाइदिएको भोलिपल्टबाटै चालामाल ठीक नभएको र सरकार ढाल्न लागि परेको उनको भनाइ थियो । ‘एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ । त्यो अरुमा छैन ।’ हाल जितेका ठाउँलाई सुरक्षित राख्दै हारेका ठाउँमा जित्नेगरी संगठन बनाउन उनले कार्यकर्तालाई निर्देशन दिएका थिए । अध्यक्ष ओलीले १० दलीय गठबन्धनको सरकारले देश निमिट्यान्न पार्ने गरी काम गरिरहेको आरोप लगाए । ‘दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यिनीहरुले त देश नै निमिट्यान्न पार्न उदृत छन्,’ उनले भने । आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको दाबी गर्दै उनले वर्तमान सरकारले देश र जनताका लागि काम नगरिरहेको आरोप लगाए । ‘विदेशीका लागि, विदेशीको इसारामा काम गर्ने होइन । देश र जनताका लागि काम गर्नुपर्छ । तर, अहिले त्यस्तो भइराखेको छैन,’ ओलीले भने ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली मुलुक आर्थिक, राजैनिक र राष्ट्रियता संकटमा रहेको बताए । यस्तो अवस्थामा सत्ता गठबन्धन रमिते बनेको उनको आरोप छ । फरक प्रसंगमा ज्ञवालीले चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताएका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा, एमाले पोलिटव्युरो सदस्य खिमलाल भट्टराई लगायतले आ–आफ्ना धारणा राखेका थिए । एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता, उपाध्यक्ष देवीलाल लामिछानेको स्वागत सचिव रामजी पोखरेलको सञ्चालमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update