बुटवल, प्रदेश नं ५ सरकारले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि प्रदेशका स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने भएको छ । प्रदेश सरकार मन्त्रि परिषद्को बुधबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले प्रदेशका १ सय ९ स्थानीय तह र १२ जिल्ला समन्वय समितिलाई गरी १३ करोड ६० लाख विशेष अनुदान उपलब्ध गराउने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
विशेष अनुदान अन्तर्गतप्रत्येक स्थानीय तहलाई १३ करोड र जिससलाई ६० लाख उपलब्ध गराइने छ । बैठकले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिकालाई २०/२० लाख, नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख र प्रदेश भित्रका अन्य ३१ नगरपालिकालाई १५÷१५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाखका दरले रकम उपलब्ध गराइने निर्णय भएको प्रेससल्लाहकारले जानकारी दिए । प्रदेशभित्रका १२ जिससलाई पाँच लाखका दरले उपलब्ध गराउन र जिससको अनुगनको कामलाई प्रभावकारी बनाउन कार्यधिकार तोकिएको छ ।
बैठक र अनुगमनमा जिससका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउनुपर्ने तोकिएको छ । सरकारले उपलब्ध गराउने कोरोना विशेष अनुदानको बजेट स्थानीय तहले आफूले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त रकम स्थानीय तहमा सञ्चालन गरिएको क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्नुपर्ने तथा लकडाउनबाट अतिप्रभावित श्रमिक तथा निम्नवर्गीय व्यक्तिलाई खाद्यान्न सामग्री खरीद गरी राहत स्वरुप वितरण गरिनुपर्ने लगायत मापदण्ड समेत तय गरिएको छ ।
–रासस


