Shittalpati
दूधको मूल्यमा मनोमानी बन्द गर

बजारमा खाद्यवस्तुुको अचाक्ली मूल्य वृद्धिले आमउपभोक्ता मारमा परिरहेका बेला दूूधमा गरिएको मनोमानी मूल्यवृद्धिले थप मारमा पारेको छ । केही दिनअघि दूधको मूल्य बढेसँगै उपभोक्ता दोहोरो मारमा परेका हुन् । शिशु, बालबालिकादेखि वृद्धवृद्धा सबैले उपभोग गर्ने दूधको मूल्य वृद्धिले अहिले हरेक नेपालीको भान्छा महँगो हुँदै गएको छ । उपभोग्य वस्तुहरूमध्ये दूधलाई अमृतसमान मानिन्छ । तर, सरकारी गैरजिम्मेवारीका कारण उपभोक्ता अमृतसामान भए पनि दूध उपभोग गर्न नसक्ने अवस्थामा पुगेका छन् । यो अत्यन्त दुःखको कुरा हो ।

सरकारले किसानले पाउने दूधको मूल्य लिटरको ८ रुपैयाँ ६६ पैसा बढाए पनि माथिल्लो मूल्य नतोक्दा उपभोक्ताहरू मारमा परेका छन् । दुग्ध विकास संस्थान (डीडीसी) लगायतका डेरी उद्योगहरूले उपभोक्ताका निम्ति लिटरमै १६ रुपैयाँसम्म बढाएका छन् । त्यसमाथि खुद्रा बिक्रेताहरूले दूधका प्याकेटमा उल्लिखित अधिकतम खुद्रा मूल्यभन्दा पनि आधा लिटरमै पाँच रुपैयाँसम्म बढी असुल्ने गरेका छन् । यसरी उपभोक्तामाथि दोहोरो ठगी भैरहेको छ । तर पनि सरकारी नियामक निकायहरू मौन रहनुु दुृःखद् हो । किसानले पाउने दूधको मूल्य बढाउनु निःसन्देह जायज छ । आफ्नो उत्पादनको उचित मूल्य पाउने हक उनीहरूको हो । उचित मूल्य नपाउँदा र लामो समयसम्म उधारो नउठ्दा प्रताडित भएका किसानहरूलाई यसबाट थोरै भए पनि न्याय भएको छ । तर, किसानहरूलाई रकम बढाइएका नाममा जुन मात्रामा उपभोक्ताका निम्ति पनि भाउ बढाइएको छ, त्यो भने सरासर नाजायज एवं अन्यायपूर्ण छ ।

मूल्य वृद्धिपछि खुद्रा व्यापारीले थप मूल्य लिने गरेका छन् । प्रतिलिटर ८५ रुपैयाँको मूल्य वृद्धि ९७ पुग्नु एउटा मार थियो भने थप तीन रुपैयाँको मनोमानी मूल्यको थप मारसहित उपभोक्ता दोहोरो मारमा परेका छन् । विडम्बना नै भन्नुपर्छ, दुग्ध विकास संस्थान (डीडीसी)ले वितरण गरेकै दूधमा उपभोक्ता ठगिने गरेको पाइएको छ । डीडीसीको स्ट्यान्डर्ड दूध (नीलो पोका) को मूल्य वृद्धिपछि प्रतिलिटर ९७ रुपैयाँ निर्धारण गरेको छ । बजारमा पाइने उपलब्ध एक पोका (आधा लिटर) को मूल्य ४८ रुपैयाँ ५० पैसा तोकिएको छ । तर उपभोक्ताले यसलाई ५० रुपैयाँ तिर्नु परिरहेको छ । दुई पोका अर्थात् एक लिटर नै दूध किन्दा उपभोक्ताले एक सय रुपैयाँ नै तिर्नु परेको छ । व्यापारीले प्रति पोका डेढ रुपैयाँ थपेर नै मूल्य लिने गरेका छन् । अझ अचम्म त दूध वितरण गर्ने डीडीसीका बुथले समेत खुद्रा मूल्य ५० नै लिने गरेका छन् । खुद्रा बिक्रीमा उपभोक्ता सबैतिर ठगिने गरेका छन् । उपभोक्तामाथि जुन ठगी भइरहेको छ । त्यो पूर्ण रूपमा रोकिनुपर्छ । सम्बद्ध निकायले तत्कालै अनुगमन गरी उपभोक्तालाई ठगीबाट रोक्न जरुरी छ ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ११:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update