Shittalpati
राजस्व चुहावट रोक्न प्रधानमन्त्रीको निर्देशन

पाल्पा, नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था निकै निराशजनक देखिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्नतर्फ चासो देखाएका छन् । उनले बजार अनुगमनलाई प्रभावकारी बनाउन र राजस्व छली नियन्त्रण गर्न सम्बद्ध निकायलाई निर्देशन समेत दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित जुत्ता, चप्पल व्यवसायीसँगको छलफल पछि आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयूक्त रूपमा बजार अनुगमन गरी राजस्व चुहावट रोक्न निर्देशन दिएका हुन् । ‘आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयूक्त रूपमा बजार अनुगमन गर्नुहोस्, राजश्व छली नियन्त्रण सम्बन्धी भएका नीतिगत व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानु पर्यो’ दाहालले भने ‘अवैध आयात नियन्त्रण गर्न संयूक्त टोली परिचालन गर्नुस् ।’ कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्न पनि दाहालले निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि राजस्व परिचालनमा अब केही सकरात्मक संकेतहरु देखा पर्न सक्ने धेरैले आशा गरेका छन् । नवजनचेतना दैनिकले बिहीबार नै ‘राजस्व चुहावट रोक’ शिर्षकमा सम्पादकीय समेत लेखेको थियो । त्यसको केही समय नबित्तै प्रधानमन्त्री दाहालले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था चिन्ताजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याड्ढ अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले ५ खर्ब ८२ अर्ब राजस्व संकलन गरेको छ । जबकि यो वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको थियो । वर्षका आठ महिना बित्दा राखिएको लक्ष्यको करिब ४२ प्रतिशतमात्र राजस्व उठेको अवस्था छ । यो अत्यन्त दुखको कुरा हो । राजस्व कम उठ्नुको मुख्य कारण राजस्व चुहावट हो । सरकारलाई बुझाउनुपर्ने राजस्व कम बुझाउने वा नबुझाउने नियतले ट्याक्स प्लानिङ गर्ने गरेका कारण अहिले यो अवस्था सिर्जना भएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update