Shittalpati
क्षयरोग दिवसको सन्दर्भ

विविध कार्यक्रमको आयोजना गरी आज विश्व क्षयरोग दिवस मनाइदैं छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाउँदै छन् । नेपालमा पनि क्षयरोग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् । २४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोग बारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष यो दिवस मनाईए पनि क्षयरोगका विराहीहरुको संख्यामा कमी आउन सकेको छैन । नेपालमा अझै पनि १० देखि १३ हजार क्षयरोगी उपचारको पहुँचमा आएका छैनन् । यसको अर्थ क्षयरोग अर्थात् टिबी नियन्त्रण गर्न सरकारी निकाय नै कमजोर रहेको मानिन्छ । यसले सन् २०३५ सम्म टिबी रोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिवद्धताप्रति चुनौती दिने देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको अगुवाईमा विगत केही बर्षदेखि क्षयरोगको व्यापकता र महत्वलाई जनता सामु उजागर गर्न र सम्पूर्ण सरोकारवालाहरुको ध्यानआकृष्ट गर्न दिवस मनाइए पनि त्यो प्रभावकारी बन्न सकिरहेको छैन् । यो अत्यन्त दुःखको कुरा हो । दिवस मनाउनु राम्रो हो । तर कसरी मनाउने भन्ने कुराले विशेष महत्व राख्छ । चर्चाकै लागि, अरूको वाहवाही पाउनकै लागि मात्र दिवस मनाउनुले भने अर्थ राख्दै । वर्षमा एक दिन अन्तर्राष्ट्रिय क्षयरोग दिवसमा विभिन्न संघसस्थाहरुले सचेतनाका कार्यक्रमहरु आयोजना गर्दछन् तर यसले कुनै उपलब्धि हासिल गर्न सकेको छैन । दिवस मनाउनुले त उपलब्धी हाँसिल गर्न सक्नुपर्छ । क्षयरोगका विरामीहरुको संख्यामा कमी आउनुपर्छ । त्यसो भयो भने मात्र दिवस मनाउनुको औचित्य रहन्छ । हैन भने हरेक वर्ष दिवस औपचारिकतामा मात्र सिमित बन्न पुग्छ । यसतर्फ सरकार र सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update