Shittalpati
आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं

पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिंदै छन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले यसअघि एमालेसँगको गठबन्धन सरकारको नेतृत्व गर्दा पुस २६ मा विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा काँग्रेससँग गठबन्धन गरेका दाहालले आज विश्वासको मत लिन लागेका हुन् । वर्तमान सत्ता गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायत रहेका छन् । नेपाली काँंग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनका लागि प्रतिनिधिसभा सदस्यहरूका लागि ह्वीप लगाएको छ । काँग्रेस संसदीय दलको आइतबार बसेको निर्णयअनुसार सांसदहरूलाई दाहाललाई विश्वासको मत दिनका लागि ह्वीप लगाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो । रास्वपाले सरकारमा सहभागिता बारे भने केही निर्णय गरेको छैन । काँग्रेस लगायतका दलहरूसँग राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बनाएका दाहालले विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने तयारी थालेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update