Shittalpati
सभामुख पदको गरिमा ख्याल गर

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका मध्ये व्यवस्थापिकाको मियो अर्थात् मुख्य व्यक्ति नै सभामुख हुन् । संबैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने संबैधानिक परिषद्का पदेन सदस्य रहने सभामुखले सरकारका सबै काम कारवाहीको अनुगमन, नियन्त्रण गर्ने संस्था व्यवस्थापिका अर्थात् संघीय संसदको प्रमुखको भूमिका निर्वाह गर्छन् । राज्यका प्रमुख अंगहरुबीचको शक्ति सन्तुलन हुने निकायका रुपमा यो पदलाई लिइन्छ । तर पछिल्लो समय सभामुखमा निर्वाचित हुने व्यक्तिले आफ्नो मान, मर्यादाको ख्यालै नगरिक काम गर्ने गरेका छन् । अहिले एमालेबाट निर्वाचित देवराज घिमिरे सभामुखको जिम्मेवारीमा छन् । उनी सभामुखमा निर्वाचित भएको धेरै समय भएको छैन् तर उनले दिएका अभिव्यक्ति विवादित बन्न पुगेका छन् । सभामुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्री छन् भन्ने अभिव्यक्ति दिएपछि उनको चौतर्फिक आलोचना भएको छ ।

नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल बधाई ज्ञापन र संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न नवनिर्वाचित देवराज घिमिरेललाई भेट्न गएको थियो । उक्त क्रममा सभामुख घिमिरेले ‘पत्रकारहरू र संघ बिक्रीमा रहेको’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति आएसँगै विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् । पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गरी सभामुख जस्तो व्यक्तिले विवादित अभिव्यक्ति दिनु गलत हो । तटस्थ, निस्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसिन सभामुखबाट नेपालको स्वतन्त्र प्रेस विरुद्ध दिएको अभिव्यक्ति अपरिपक्क, अशोभनीय छ । पत्रकारले नेपालको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका महत्वपूर्ण छ । पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् । यस्तो अवस्थामा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक विकास गर्न कानुन निर्माणमा सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद् हो ।

पत्रकारिता क्षेत्रमा कमजोरी नभएका होइनन् । तर पत्रकारितामा देखिएका कमी, कमजोरीलाई कानुन बनाएर विधि र पद्धतिबाटै सुधार गर्नुपर्छ । त्यो बाटोमा सभामुखले भूमिका खेल्नुपथ्यो तर त्यसो नगरेर समग्र पत्रकारितालाई नै बदनाम गर्ने गरी अपरिपक्क अभिव्यक्ति दिनु कदापि राम्रो हुन सक्दैन । घिमिरेले यस्ता अभिव्यक्ति फिर्ता लिएर सभामुख पदको गरिमा र मर्यादालाई कायम राख्नु उचित हुनेछ । यसतर्फ बेलैमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update