Shittalpati
खरको छानो मुक्त कार्यक्रम गौरवको विषयः नगरप्रमुख थापा

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले देशभर खरको छानो मुक्त शहर कार्यक्रम लागु हुनु गौरवको विषय भएको बताएका छन् । नगरप्रमुख थापाले देशका अधिकांश घरहरु खरका हुँदा आगालागीका कारण जोखिमयुक्त रहेकाले खरको छानो मुक्त कार्यक्रम गौरवको विषय रहेको बताएका हुन् ।

रामपुर नगरपालिकाको छैटौं नगर सभाको शनिबार उद्घाटन गर्दै उनले नगरपालिकाले सम्भवत देशमै पहिलो पटक खरको छानो मुक्त शहर कार्यक्रम लागुगर्ने पालिका भएको दावी गरे । थापाले निर्वाचनको समयमा घोषणा पत्रमै खरको छानो मुक्त शहर कार्यक्रमलाई राखेर अघि बढ्ने नगरपालिका रामपुर नगरपालिका भएको बताए । उनले पहिलो नगर सभाले नीति पारित गरेर ५ वर्षे समय अवधी भित्र खरको छनो मुक्त शहरको रुपमा विकास गर्न लागि परेको बताए । उनले भने, ‘हामीले नीति अहिले प्रदेश र केन्द्रले पनि अवलम्बन गरेको छ । यो हाम्रो लागि गौरवको विषय हो ।’ थापाले रामपुर नगरपालिकालाई ढल रहित शहरको रुपमा पनि विकास गर्न लागि परेको बताए । निर्वाचित भए पश्चात रामपुर नगरपालिकाले प्राप्त गरेका महत्वपूर्ण उपलब्धीको बारेमा जानकारी दिदै थापाले नगरपालिका पूर्वाधार विकाससंगै कृषि, उद्योग, प्राविधिक शिक्षा, स्वास्थ्य क्षेत्रको उत्थानमा जोड बलका साथ लागेको बताए । रामपुर नगरपालिका अन्य पालिका भन्दा फरक भएको स्मरण गर्दै द्वन्द्वको समयमा पनि रामपुर नगरपालिका विकासमा एकजुट भएर अघि बढेको बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानले कर्माचारी अभावका कारण नीतिहरु नबन्दा केही समय समस्या आएको तर अब विस्तारै गति लिने क्रममा रहेको बताए । उनले नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकता दिएको भन्दै सबै निर्वाचनका समयमा गरेका बाचा पूरा गर्न जनप्रतिनिधहरु छलफल गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिका १० का वडा अध्यक्ष लिलाबहादुर गाहाले नीति तथा कार्यक्रम घोषणा भए अनुसार अघि बढ्न नसकेको गुनासो गरेका थिए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त गरेको उपलब्धीको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा रामपुर नगरपालिकाको वस्तुस्थिति समेटिएर तयार गरिएको श्रव्य दृश्य सामग्री पनि सार्वजनिक गरिएको थियो । उपप्रमुख विष्णुदेवी घिमिरे अचार्यको स्वागत र प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । नगरपालिकाको हिउँदे अधिवेशन आगामी माग २२ गते सकिने छ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update