Shittalpati
राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार गर्न निषेध

पाल्पा, निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरेको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको हो ।

यो अवधिमा निर्वाचन प्रचार–प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । यसैगरी उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पनि पाइँदैन । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न÷गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचार–प्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।

आयोगले चैत्र ५ गतेसम्म लागू हुनेगरी आचारसंहिता लागु गरेको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको जनाएको छ । यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

सो निर्वाचनमा सरकार, सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई आचारसंहिता लागू भएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update